चन्द्रको पुनर्जन्म !

टंक श्रेष्ठ
मंसिर ८, २०८०

२०१७ भदौ २४ गते फुङ्लिङको लहरेगाउँमा जन्मेका चन्द्र श्रेष्ठमाथि २०४९ जेठ १५ गते चार जनाले खुकुरी प्रहार गरे, खुकुरी हान्नेहरुले म¥यो भनेर छाडेर हिडे । तर, उनको दिन आएको थिएनछ ।
राजनीति निर्मम, निर्दयी र हिंस्रक पनि हुन्छ । चन्द्र श्रेष्ठ प्रजातन्त्र पछिको पहिलो स्थानीय चुनावमा त्यही हिंस्रक राजनीतिको शिकार बने । २०३४ सालदेखि बामपन्थी राजनीतिबाट प्रभावित भएका चन्द्र श्रेष्ठ २०३६ सालदेखि राजनीतिमा सक्रिय बने । लहरेगाउँ र आसपास बामपन्थी राजनीतिको दरो किल्ला बन्यो । नेकपा मालेले २०४३ सालको पन्चायती चुनावलाई उपयोग गर्ने नीति लियो । चन्द्र श्रेष्ठलाई मालेले फुङ्लिङ वडा नम्बर १ को वडाध्यक्षको रुपमा जनपक्षीय उम्मेदवार बनायो । जुझारुपन, इमान्दारिता र लोकप्रियताको कारण चन्द्र श्रेष्ठ वडाध्यक्षमा विजयी भए । फुङ्लिङबाट विजयी हुने उनी एक्लो वडाध्यक्ष थिए । बहुदल आएपछि पनि उनलाई नै उमेद्वारको लागि अफर आयो । चन्द्र श्रेष्ठको आर्थिक अवस्था र पारिवारिक जिम्मेवारीले गर्दा उम्मेदवार बन्ने अवस्था थिएन । चन्द्रले ‘म उठदिन, आर्थिक अवस्था कमजोर छ । म माथि ११ जनाको भार छ, उनीहरुलाई पाल्नुपर्छ’ भने । पार्टीका नेताहरुले ‘तपाई त वरपिपल जस्तो हो । तपाई उठेन भने पार्टीले जित्दैन, पार्टीको अस्तित्वको कुरा हो । अरुले … को गुण्डासँग लड्न सक्दैन ।’ उतिबेलाको कुरा सम्झदै चन्द्र भन्छन्– जताततै पन्च नेताको गुण्डाहरुको डर थियो । हाटबजारमा पनि आमा दिदीहरुलाई तर्साउथे । हरि श्रेष्ठले पन्चे र उनीहरुको गुण्डाको दबाब थाम्न नसकेर जिल्ला नै छाडे । चुनावमा उठेर मात्रै हुृदैन थियो, उनीहरुसँग लड्न पनि सक्नुपर्दथ्यो । अम्बिका साँवा र कुलप्रसाद उप्रेतिले तपाइँ नभई हुदैन भन्दै धेरै कर गरे । ‘पार्टी छ, हामी हेर्छौं’ भने । कुलप्रसाद उप्रेति मेरो घरमा २ दिनसम्म बसे । घरको आर्थिक अवस्था चुनाव लड्ने खालको थिदै थिएन । केही नलागेपछि म उठें ।
चुनावको मतदान केन्द्र मेदिबुङमा थियो । मतदान सकिनै लागेको थियो, तीन बजेतिर ३५ जना जति गुण्डाहरुको हुल आयो । त्यहाँ मैले चिनेको दुई तीन जना मात्रै थिए । उनीहरुले नै अन्यत्रबाट करिब ३५ जनाजति खुकुरीधारी गुण्डाहरु लिएर आएका थिए । उनीहरुले तीन तहमा घेरेका थिए । पहिला ८, १० जना आएर घेरा हाले । त्यसपछि फेरी अरु पनि आए बाँकी बाहिर घेरा हालेर बसे । गुण्डाहरुको नाइकेले भन्यो ‘लु केटा हो हात छोड’ । मान्छे चिनाउने काम त्यही गुण्डा नेता र थाकुरेले गरेको थियो ।
म राम बरालको घरमा उक्लन खोज्दा डिलमाथिबाट आक्रमण भयो । लाठी त कति खाइयो खाइयो । मैले तीन खृुकुरी खाइ सकेको थिएँ । चौथो खुकुरीले मलाई ढलायो । खशी कटाइ नै हानेको हो । सामान्य कटाइले मेरो कपडा नै काट्न सक्दैन थियो । त्यस्तो कपडा लगाएको थिएँ । सुरुमा खुकुरी हान्ने दोभानको होचो होचो लिम्बू थियो । खुकुरी हान्ने जम्मा चार जना थिए । चारै जनाले मलाई खुकुरीले हाने । एउटाले हान्दा गर्धन बचाउन दाहिने हात उचाल्दा कुहिना काटियो । फेरी अर्को खुकुरी हान्दा कुम काटियो । मैले उनीहरुसँग भिड्दै पहिलो र दोस्रो घेरा तोडें, तर तेस्रो घेरो तोड्न सकिनँ । ढाँडमा खुकुरीले हाने पछि ढाँड भ्वाङ प¥यो । फोक्सो, कलेजो सबै देखिन्थ्यो रे ! ढाडबाट सास जान थालेछ । त्यसपछि लडेर एउटा सानो खाल्डामा परेछु र त्यही खुनको पोखरी बन्यो । अन्त्यमा चुलाको चौका बनाउने खालको ढुंगाले मेरो कन्ड्यौलीमा हाने । अब म¥यो भनेर उनीहरु हिडे । मसँग पनि हतियार भएको भए केहीलाई त छिनाउँथे होला, तर थिएन । धेरै हार गुहार गरें । तर पार्टीका जिम्मेवारहरु नै लुके, भागे । कसैले हार गुहार सम्म गरिदिएन । राम वरालको बाबुले ‘खबरदार मान्छे मर्ला’ भनेर एउटा डल्ला हाने । उनी मात्रै हो बोल्ने । अरुले त्यसरी नै हारगुहार गरेर कराएको भए ती गुण्डाहरु पनि हच्किन्थे होला ।
मलाई अचेत अवस्थामा तोक्मेबाट हेलिकप्टरमा चढाइयो । साथमा गणेश न्यौपाने थिए । तोक्मेमा मलाई हेलि चढाउने बेला घरबाट सानी छोरी हिड्न सक्दैन थिइ, बाँकी सबै आएका रहेछन् । छोराछोरीहरुले मलाई सुम्सम्याउदै ‘चाँडै निको भएर आउनु है’ भन्दा त्यहाँ भेला भएका नरुने कोहि थिएनन् रे ! म बाँच्नुमा तिनै जिल्लावासीहरुको आशिर्वाद र डा. शुवर्ण प्रधानको उपचारले हो । डाक्टर सुवर्ण प्रधान नभएको भए पनि म बाच्ने ठाउँ थिएन भन्छन् । उनी त्यही दिन दुई बजेको उडानमा ताप्लेजुङ आएका रहेछन् । त्यही दिनको तीन बजे मेरो घटना घटेको । मदन भण्डारीले सबैभन्दा अशान्त जिल्ला ताप्लेजुङ हो भनेकोले गर्दा सुवर्ण ताप्लेजुङ पुगेका रहेछन् । मलाई अरुले उपचार गर्न हिम्मत नगरेको अवस्थामा उनै डाक्टरको उपचारले गर्दा म काठमाडौंसम्म जिवितै पुग्न सकें ।
काठमाडांैको टिचिङ अस्पतालमा ल्याएको ७ दिनपछि मात्रै मेरो होस् आएको थियो । बाँच्न त बाँचे तर अपांग जस्तो जीवन बाँचेको छु । म भाग्यले बाँचेको मान्छे । पत्रिकाले समेत कलेजो काटिएको मान्छे बाँच्यो भनेर लेखेछ । कलेजो नै त काटिएको थिएन । मलाई बोक्दा पछ्यौराले भए पनि ढाँड बाँधेर बोक्नुपर्ने रहेछ । त्यत्तिकै खुल्ला नै उत्तानो पारेर बोक्दा उकालोमा हल्लिदा माथिल्लो भागबाट कलेजोमा खुन झरेकोले कलेजो काटिएको जस्तो देखिएर त्यस्तो समाचार आएको रहेछ ।
दुई महिनाको उपचारपछि ताप्लेजुङ फर्कें । प्रताप हाङ्गाम पनि मलाई सान्त्वना दिन आएको थियो । मादेनको मान्छेले ‘मुद्दा फिर्ता लिनुहोस् ८० हजार दिन्छु’ भन्यो । पार्टीले गम्भीर रुपमा ध्यान नदिएकोले मैले पार्टीमा गएर ‘म मुद्दा लड्दिनँ’ पनि भनें । म अझै सुरक्षित थिइनँ किनभने दोषी होइन, निर्दोेषलाई पक्रिएको थियो । त्यसो भइसकेपछि दुष्मनी त्यसै हुन्छ । त्यसो भयो भने घरमा बस्ने स्थिति हुदैन भनें । पार्टीले मेरो लागि खटाएको वकिलले नै पनि दुश्मनको साथ दिएपछि त मेरो के लाग्थ्यो र ? पार्टी पनि म प्रति गम्भीर भएन । ‘त्यसो भए मेरो बसाई अब ताप्लेजुङमा यति नै रहेछ’ भनेर ताप्लेजुङ छाडें । ताप्लेजुङमा गुण्डागर्दी सामान्य थिएन । मलाई काटेर मात्रै गुण्डाहरुलाई पुगेन रहेछ, काटे पछि बेलुका तिनै गुण्डाहरु मातेर मेरो घरमा गएर ढु्ंगामुडा गरेछन् । मेरो घरमा मात्रै होइन रातभरी लहरेगाउँभरी सबैलाई तर्साएछ । त्यत्रो हुँदा पनि पार्टीले केही गरेन । म एक्लै केको लागि भिडेर बसिरहनु भन्ने लाग्यो र आफु जन्मी हुर्केको प्यारो ठाउँ छाडें ।
उपचार एकपटक मात्रै होइन, पटक पटक गरिरहनु परेको छ । मेरुदण्डको समस्या लिएर बाँच्नु कठिन हुदो रहेछ । घाउ बल्झेर एकपटक निकै सिकिस्त भएपछि नेता गुरु बरालको सहायतामा काठमाडांैको कालिमाटीमा लामो उपचारपछि घर फर्कें । त्यतिबेला कुँजो जस्तै भइसकेको थिएँ । त्यसपछि पनि धेरै पटक सताएको छ । पछिल्लो समय २०७८ सालमा पनि बल्झेर हिड्न नसक्ने भएँ, आँखा देख्न पनि कठिन भएको थियो । मेरो माहिली छोरी शोभा श्रेष्ठ जोशीले काठमाडौंं उपचारको लागि लिएर आयो । टिचिङ अस्पतालमा देखाउँदा ‘मासु कुहिएको छ, अपरेशन गर्नुपर्छ’ भन्यो । टिचिङमा अपरेशको लागि ६ महिनापछिलाई मात्रै समय पाइने भएपछि गुरु वरालसँग सल्लाह गरेर चक्रपथ वेल केयरमा भर्ना भई दुई महिना उपचार गरेँ । छोरी शोभाले आफ्नौ सबै काम छाडी ढुक्कै साथ दिएको थियो । त्यो वर्षको हाम्रो दशैं पनि अस्पतालमा नै भयो ।
शारीरिक पीडा त छँदैछ, मानसिक पीडाले पनि धेरै सताएको छ । पार्टी सदस्यता सरुवा लिएर मोरङ आएँ । पार्टीमा पहुँच हुनेहरुले सामान्य चोटपटक हुँदा पनि राज्यबाट सुविधाहरु लिए, रकम लिए । तर मैले त्यस्तो कुनै सुविधा पाइनँ । अपांगहरुले औषधि खानको लागि तीन हजार पाइन्छ भन्ने बुझेर हाम्रै क्षेत्रबाट जितेका नेता मन्त्री भएको बेला गएँ । ‘अपांग छु । तपाईले बोल्दा हुन्छ भने गरिदिनु प¥यो’ भनें । ढकालले सानो सहानुभूति पनि देखाएन । बरु उल्टो मैले खुकुरी दिएर पठाएको हो र ? भने । मलाई अझ बढी पीडा त कतिबेला भयो भने मलाई काट्न आदेश दिने मान्छे नै ताप्लेजुङ जिल्लामा एमालेको नेता भयो, टीकट पाएर राइँदाइँ ग¥यो ।
चन्द्र श्रेष्ठ भन्छन्, ‘उनीहरुले मलाई काटेर आधा घण्टा बुथ कब्जा गरी नक्कली मत खसाए । अब त जितिन्छ भनेर हिडेका थिए रे । त्यति हुँदा पनि मैले ५६ (!) मतले चुनाव जिते । चुनाव जिते पनि मेरो भाग्य हा¥यो । अपांग शरीर बोकेर बाँचिरहेको छु । जुन पार्टीको लागि ज्यान हत्केलामा राखेर लडें, त्यो पार्टीले मलाई अहिले चिनिरहनु आवश्यक ठान्दैन । राजनीति यति निर्दयी होला भन्ने लागेको थिएन ।’
राजनीतिमा इमान्दारिता र त्यागको कदर ढिलोचाँडो हुन्छ, हुनुपर्छ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु