नेपाली क्रिकेटको ऐतिहासिक दिन आज, विश्व नम्बर एक पाकिस्तानसँग खेल्दै

वेलकम खबर
भदौ १३, २०८०

काठमाडौँ ।‌नेपाली क्रिकेट इतिहासमा आज सबैभन्दा महत्वपूर्ण दिन हो। एसिया कपको डेब्यू खेलमा आज नेपालले विश्व नम्बर वान टोली एवं आयोजक पाकिस्तानसँग खेल्दैछ। नेपाल र पाकिस्तानबीचको खेल मुल्तान क्रिकेट रंगशालामा नेपाली समय अनुसार अपरान्ह सवा ३ बजे सुरु हुनेछ।

पहिलो पटक एसिया कप खेल्न लागेको नेपालले पहिलो खेलमै आयोजक तथा २ पटकको विजेता पाकिस्तानसँग खेल्न लागेको हो। एसिया कप खेल्ने नेपालको सपना दशक अगाडिदेखि थियो। यो मौका सन् २००५ मा पनि जुरेको थियो। नेपाल छनोट भयो । तर कार्गिल युद्धको कारण त्यो संस्करण नै हुन सकेन।‌

मुल्तान मैदानमा वेस्ट इण्डिजसँग भएको ३ खेलको ओडिआई सिरिज पाकिस्तानले क्लिनस्विप गरेको थियो। घरेलु मैदान र समर्थकको साथमा अनुभवी खेलाडी रहेको पाकिस्तान नै बलियो स्थितिमा छ। क्रिकेटमा नेपालभन्दा धेरै बलियो राष्ट्र हो पाकिस्तान। उसले एक दिवसीय विश्वकप, टी–२० विश्वकप र च्याम्पियन्स ट्रफी जस्ता प्रतियोगिताहरु जितिसकेको छ। भर्खरैमात्र पाकिस्तान एक दिवसीय क्रिकेटको विश्व वरियतामा एक नम्बरमा उक्लियो। अर्थात्, नेपाल विश्वको नम्बर एक क्रिकेट टीमविरुद्ध भिड्दैछ।

यो खेलमा स्वाभाविक रुपमा पाकिस्तान जीतको दावेदार हो। तर, क्रिकेट सबैभन्दा अनिश्चितताको खेल पनि हो। र, पाकिस्तान अनिश्चित क्रिकेट खेल्न कहलाएको छ। एक दिन ऊ उत्कृष्ट क्रिकेट खेल्छ भने अर्को दिन साह्रै नराम्रो पनि खेल्छ। कहिले आफूभन्दा बलियो टीमलाई सहज रुपमा हराउँछ, कहिले निकै कमजोर टीमसँग पनि लज्जास्पद हार व्यहोर्छ। यदि आज म्याचमा पाकिस्तानको कमजोर रुप प्रकट भयो भने नतिजा केही भन्न सकिन्न।

नेपालले कसलाई मैदानमा उतार्ला ?

पाकिस्तानविरुद्ध नेपालले विपक्षीअनुसार पिचको अवस्था, आवश्यकता र आफ्नो रणनीति अनुसार १७ सदस्यीय टोलीबाट ११ खेलाडी मैदानमा उतार्नेछ।

पाकिस्तानविरुद्ध मुख्य प्रशिक्षक मोन्टी देशाईले कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, भीम सार्की वा अर्जुन साउद, कप्तान रोहित पौडेल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी र सन्दीप लामिछानेलाई सुरुवाती ११ मा समेट्न सक्नेछन्।

पछिल्लो समय कुशल भुर्तेल र आसिफ शेखले टोलीको ओपनिङ सम्हालिरहेका छन्। ओडिआईमा नेपालका लागि कुशल र आसिफले नै अहिलेसम्म १ सय ७१ रनको सर्वाधिक साझेदारी गरिसकेका छन। यी दुई ३ पटक शतकीय साझेदारी गरि सकेका छन्।

आसिफले टोलीमा विकेटकिपरको जिम्मेवारी समेत निभाउँदै आएका छन्। विकेटकिपिङको अर्को विकल्प अर्जुन साउद छन्। इमर्जिङ कपमा पाकिस्तानको ए टिम विरुद्ध राम्रो प्रदर्शन गरेका अर्जुनले सिनियर टोलीविरुद्ध समेत मौका पाउने सम्भावना छ। अर्जुनले सुरुवाती ११ मा स्थान बनाउन नसकेकामा भीम सार्कीको सम्भावना बलियो छ।

आवश्यकता अनुसार मध्येक्रम सम्हाल्ने जिम्मेवारी कप्तान रोहितको काँधमा हुनेछ। आजको खेलमा अलराउण्डर कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी र गुल्शन झाले मौका पाउन सक्छन् भने फास्ट बलिङमा करण केसी र सोमपाल कामी छन्। स्पिनमा सन्दीप निर्विकल्प रहँदा आवश्यकता र रणनीति अनुसार ललित राजवंशीलाई पनि मैदानमा देख्न सकिन्छ।

नेपालसँग खेल्ने पाकिस्तानी टोली

नेपालविरुद्धको खेलको लागि पाकिस्तानको प्लेईङ(११ को घोषणा भएको छ। बाबर अजामको कप्तानीमा प्लेईङ-११ को घोषणा भएको हो।

टोलीमा बाबर अजाम, सादाब खान, फखर जमाम, इमाम उल हक, ईफ्तिखार अहमद, आगा सलमान, मोहम्मद रिजवान, मोहम्मद नवाज, साहिन शाह अफ्रिदी, हरिस रउफ र नसिम शाह रहेका छन्।आगामी भदौ १८ गते नेपालले भारतसँग श्रीलङकामा खेल्नेछ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*