भदौ १४ देखि ताप्लेजुङ गोल्डकप हुने
ताप्लेजुङ । लाखेजात्राको अवसरमा सदा झै यसपाली पनि एक हप्ता ताप्लेजुङ गोल्डकप प्रतियोगिता हुने भएको छ । पाथीभरा गोल्डकप फुटबल प्रतियोगिताको पाचौं संस्करण ताप्लेजुङ सदरमुकाम फुङलिङ स्थित भानु माविको खेल मैदानमा हुन लागेको हो ।
भाद्र १४ गते देखि २० गतेसम्म चल्ने प्रतियोगितामा राष्ट्रिय तथा अन्तरास्ट्रिय गरेर ८ टिमले प्रतिस्पर्धा गर्ने ताप्लेजुङ गोल्डकपका अध्यक्ष देवराज गुरुङले जानकारी दिनुभएको छ।खेल खेलाउन निकै चुनौती रहेता पनि ४३ सदस्यीय तदर्थ समिती बनाइ खेल खेलाउन लागिएको आयोजकले जनाएको छ। हाललाई समिति पुर्ण नभएको र छिट्टै सबै क्षेत्रलाई समेटी पुर्ण समिति बनाइने अध्यक्ष गुरुङले जानकारी दिनुभयो । खेल हेर्ने दर्शकका लागि करिब १० हजार दर्शक अटाउने गरी बाँसको अस्थायी प्यारापिट निर्माण गरिने आयोजकले जनाएको छ ।

प्रतियोगिताको विजेताले तीन लाख ११ हजार र उपविजेताले एक लाख ५१ हजार रुपैयाँसहित ट्रफी पाउने छन्। बाँकी पुरस्कार, खेलाडी व्यवस्थापन लगायत सबैको खर्च करिब ४१ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको समितिका कोषाध्यक्ष निरोज श्रेष्ठले बताउनुभयो।

पूर्वी पहाडकै प्रतिष्ठित पाथीभरा गोल्डकपमा दिनहुँ चाररपाँच हजार दर्शकको भीड लाग्ने गरेको आयोजकले जनाएको छ। २०२९ देखि २०७२ सालसम्म कञ्चनजंघा च्यालेन्ज रनिङकप भनेर खेलाइँदै आएकोमा त्यस यता प्रतियोगिताको नाम परिवर्तन गरी पाथीभरा गोल्डकप बनाइएको थियो।
कोभिड कारण दुई बर्ष गोल्डकप हुन सकेको थिएन भने गत बर्ष खेलमैदानको कारणले खेल हुन सकेको थिएन तर यसपटक लाखेजात्राको पहिचान नै फुटबल भएको भन्दै ब्यापक हुनुपर्ने आवाज उठेपछि यो बर्ष देखि ताप्लेजुङ गोल्डकप नामले खेलाइने भएको हो।




















