मानबहादुर श्रेष्ठ नेपाली भलिबल टिमको नयाँ कप्तान

वेलकम खबर
साउन २, २०८०

काठमाडौं । मानबहादुर श्रेष्ठ नेपाल पुरुष राष्ट्रिय भलिबल टिमका नयाँ कप्तान नियुक्त भएका छन् ।सोमबार बसेको नेपाल भलिबल संघको कार्यसमिति बैठकले त्रिभुवन आर्मी क्लबका स्पाइकर मान बहादुरलाई कप्तान नियुक्त गर्ने निर्णय गरेको हो ।

सन् २०१५ देखि नेपालको राष्ट्रिय टिममा खेल्दै आएका मानबहादुरले नेपालले खेलेको पाँच वटै सेन्ट्रल जोन भलिबल र काभा नेसन्स लिग खेलेका छन् ।

नेपालले २०१७ मा माल्दिभ्समा सेनट्रल जोनमा तेस्रो हुँदै कांस्य पदक जित्दा मानबहादुरले बेस्ट आउटसाइड सेकेण्ड अट्याकरको अवार्ड जितेका थिए ।संघले आर्मीका सेटर हरि हजुर थापालाई राष्ट्रिय टिमको नेतृत्व गर्न नसकेको भन्दै कप्तानबाट बर्खास्त गरेपछि कप्तान पद खाली थियो ।गत महिना मात्र कीर्गिस्तानमा भएको काभा नेसन्स लिगका लागि खुल्ला छनोटमा नियमित कप्तान इम राना मगरले भाग नलिएपछि संघले हरि हजुरलाई कप्तान बनाएको थियो ।

सातौं पीएम कप एनभीए महिला तथा पुरुष राष्ट्रिय क्लब लिग भलिबल दौरान गण्डकीविरुद्धको खेलमा थापाले कप्तानको भूमिका राम्रोसँग निर्वाह गर्न नसकेको र कर्तव्यविमुख भएको भन्दै संघले उनलाई कप्तानबाट हटाएको थियो ।अघिल्लो सोमबार गण्डकीविरुद्धको खेलमा तनाव उत्पन्न हुँदा आर्मीका धनबहादुर भट्टले दर्शकलाई नै कुटेका थिए । संघले धनबहादुरलाई ६ महिनाका लागि निलम्बन नै गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*