नेपालले आयरल्यान्डविरुद्ध टस हार्यो
काठमाडौं । नेपालले आइसिसी विश्वकप छनोटको सातौं स्थानको लागि टेस्ट टोली आयरल्यान्डविरुद्ध टस हारेकोछ । जिम्बावेको ताकाशिंगा स्पोर्ट्स क्लब हरारेमा भर्खर सम्पन्न टसमा आयरल्यान्डका कप्तान एन्डी बालबर्नीले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन् ।
नेपाल समूह ए बाट ४ खेलमा ३ मा हार र १ मा जित सहित चौथो स्थानमा रहेर बाहिरिएको थियो । नेपालले अमेरिकालाई ६ विकेटले हराएको थियो । जिम्बावेसँग ८ विकेट, वेस्टइन्डिजसँग १ सय १ र नेदरल्यान्ड्ससँग ७ विकेटले पराजित भएपछि सुपर सिक्समा पुग्न सकेको थिएन ।
उता आयरल्यान्ड पनि ४ खेलमा ३ मा हार र १ मा जितससहित चौथो स्थानमा रहेर समूह बी बाट बाहिरिएको थियो । आयरल्यान्ड समूह चरणमा ओमानसँग पाँच विकेट, स्कटल्यान्डसँग एक विकेट र श्रीलंकासँग १ सय ३३ रनले पराजित भएको थियो ।
आयरल्यान्डले युएईलाई १ सय ३८ रनले हराएको थियो । आयरल्यान्डले प्लेअफ खेलमा अमेरिकालाई ६ विकेटले हराएको थियो । नेपालले टि२० आईमा आयरल्यान्डसँग तीन खेल खेलेको छ । तीनै खेलमा नेपाल हार्न पुगेको छ ।
नेपालको सम्भावित प्लेइङ ११
अर्जुन साउद (विकेटकिपर), कुशल भुर्तेल, ज्ञानेन्द्र मल्ल, रोहित पौडेल (कप्तान), भीम सार्की, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, करण केसी, किशोर महतो र सन्दीप लामिछाने ।



















