नरेनको शतकमा मलेसियाविरुद्ध नेपालले दियो २५३ रनको लक्ष्य
काठमाडौँ । नरेन भट्टले सानदार शतक बनाएपछि नेपालले एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको फाइनलमा मलेसियाविरुद्ध मजबुत स्कोर बनाएको छ । नरेनले ८२ बलमै १ सय रन पूरा गरेपछि टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरको खेलमा ८ विकेट गुमाई २ सय ५२ रन बनाएको छ ।
मलेसियामा भइरहेको प्रतियोगितामा नरेन १ सय १२ रन बनाई अविजित रहे । उनले ८९ बल खेल्दै १० चौका र २ छक्का प्रहार गरे । नरेन र सन्तोष यादवले पाँचौं विकेटमा शतकीय साझेदारी गरेपछि नेपाल विशाल स्कोर बनाउन सफल भयो । सन्तोष २६ रनमा आउट भएपछि १ सय ४ रनको यो साझेदारी टुटेको थियो । उनले २९ बल खेल्दै २ चौका प्रहार गरे ।
नेपालले समूहचरणमै पनि मलेसियालाई ८४ रनले पराजित गरेको थियो । तल्लोक्रममा अशोक धामीले ३६ बल खेली ३ चौका र ५ छक्का प्रहार गरेपछि नेपाल ३३.४ ओभरमा १ सय ८३ रनमा अलआउट भएको थियो । जवाफमा आएको मलेसियालाई नेपालले ३०.५ ओभरमा ९९ रनमा अलआउट गरेको गरेको थियो ।
बायुमास ओभल मैदानमा मंगलबार नेपालीले यही उच्च प्रदर्शनलाई निरन्तरता दिएको थियो । यसअघि निरज यादव र सूर्यांशु कोइरालाले पुनः एकपटक नेपाललाई राम्रो सुरुवात दिलाएका थिए । यी दुईले आठौं ओभरमा ४१ रन जोडेका थिए । सूर्यांशु दुई चौका प्रहार गरी २३ बलमा १८ रन बनाई आउट भए । नरेनसँग दोस्रो विकेटमा ५५ रन जोडेका निरज अर्धशतक बनाउन चुके । निरजले ४९ बल खेली ६ चौकासहित ४७ रन बनाए ।
दीप भुजेल ५ र प्रतीक भट्टराई १ रनमा रनआउट भएपछि नेपाल केही समय दबाबमा परेको थियो । यहीँबाट नरेन र सन्तोषले नेपाली इनिङ्स उकासेका थिए । आफूले सामना गरेको पहिलो बलमै चौका प्रहार गरेका अविषेक तिवारी अर्को बलमा बोल्ड भए । अशोक धामी एक छक्का प्रहार गर्दै ७ बलमा ११ रन बनाई आउट भए । आशिष लोहार २ रनमा बोल्ड भए ।



















