युवा संघको आयोजनामा भ्याली च्याम्पियनसिप फुटसल प्रतियोगिता सुरु
काठमाडौ । नेकपा एमालेको युवा संगठन राष्ट्रिय युवा संघ नेपालको आयोजनामा काठमाडौं उपत्यकास्तरीय भ्याली फुटसल च्याम्पियनसिप प्रतियोगिता सुरु भएको छ ।
काठमाडौंको तारकेश्वर नगरपालिका- ६, फुटुङ स्थित फुटसल मैदानमा युवा संघका अध्यक्ष क्षितिज थेबेले प्रतियोगिताको उद्घाटन गरे । आजदेखि सुरु भएको प्रतियोगितामा काठमाडौं, ललितपुर र भक्तपुरका १६ देखि २४ वर्ष उमेर समूहका झण्डै ५०० फुटसल टिमको सहभागिता रहने आयोजकले जानकारी दिएको छ ।
प्रतियोगिताको विजेता टिमले २ लाख र उपविजेताले १ लाख नगद पुरस्कार पाउनेछन् । त्यस्तै एक जना उत्कृष्ट खेलाडी र उत्कृष्ट गोलरक्षकले १०-१० हजार नगद पाउनेछन् ।
युवा संघका अनुसार आजदेखि उपत्यकाका २१ वटा स्थानीय तहमा २२ असारसम्म पालिका च्याम्पियनसिपका लागि आ-आफ्नो पालिकामा वडास्तरीय च्याम्पियनसिप खेलाइनेछ । पालिका च्याम्पियनहरूका बीचमा २३ असारमा फाइनल खेल हुनेछ ।
युवा संघका प्रवक्ता निरोज पौडेलले फुटबल र फुटसलप्रति आम युवाको बढ्दो आकर्षण र रचनात्मक क्रियाकलाप गर्ने संघको उद्देश्यले रचनात्मक क्रियाकलाप गर्दै आइरहेको जानकारी दिए ।



















