कुखुराको अण्डाको मूल्य बढेसँगै मासुको मूल्य पनि उकालोतिर

काठमाडौ । कुखुराको उत्पादनमा कमी आउन थालेपछि बजार भाउ बढेको छ। बजारमा कुखुराको अण्डाको मूल्य बढेसँगै मासुको मूल्य पनि उकालो लागेको हो। मासुको मूल्य बढ्दा किसानलाई राहत भए पनि उपभोक्तालाई महँगो परेको छ। राष्ट्रिय कुखुरा बिक्री व्यवसाय संघले जिउदो ब्रोइलर कुखुराको कोल्डस्टोर खरिद मूल्य बढाएको हो। संघले बुधबारदेखि बजारमा लागु हुने गरी जिउँदो कुखुराको मूल्य प्रतिकेजी १० रुपैयाँ बढाएको छ। नयाँ मूल्य अनुसार जिउँदो कुखुरा प्रतिकेजी ३ सय १० रुपैयाँ पुगेको छ। उपभोक्ता मूल्य प्रतिकेजी ४ सय ३० रुपैयाँ तोकिएको छ।
यस अघि बजारको मागभन्दा उत्पादन धेरै भएपछि मूल्य घटेर प्रतिकेजी २ सय ७० रुपैयाँमा आइपुगेको थियो। असारको पहिलो साता पनि संघले मूल्य बढाएको थियो। गत वैशाखमा बढ्न थालेको कुखुराको मूल्य जेष्ठदेखि घट्दै गएको थियो। बजारको माग अनुसार उत्पादन नभएकाले मूल्य अझै बढ्न सक्ने संघले जनाएको छ।
गर्मीका कारण कुखुराको उत्पादनमा कमी आएपछि व्यवसायीहरुले मूल्य बढाउन संघसँग माग गर्दै आएका थिए। चल्ला, दाना, ढुवानी लगायतमा उत्पादन लागत महँगिनु र बजारमाग अनुसार आपूर्ति घट्नुका कारण मूल्यमा चाप परेको संघका अध्यक्ष जंगबहादुर बीसीले बताए। ‘यस पटक गर्मीले कुखुरा उत्पादन घटेको छ। खपत धेरै भएर मूल्य बढेको होइन,’ उनले भने।
यतिबेला देशभर मासुको खपत सामान्य छ। दैनिक ८ लाख केजी मासु खपत भइरहेको छ। जसमा उपत्यकामा मात्र दैनिक ५ लाख केजी मासुको माग छ। उपत्यका बाहिर ३ लाख केजी खपत हुन्छ। यो वर्ष गर्मी अत्यधिक भएपछि उत्पादन निकै कम भएको व्यवसायीले बताएका छन्। गर्मीले कुखुरा मरेर किसान र पोल्ट्री फर्महरुलाई नोक्सानी भएको छ। ‘अघिल्ला वर्ष यही समय उत्पादन बढ्दा मूल्य घट्ने गरेको थियो। उत्पादनमै समस्या भएपछि यसपालि मूल्य बढ्दै छ,’ अध्यक्ष बीसीले भने।