भारतसँग बरावरी खेलसँगै कुवेत समूह विजेता बन्दै सेमिफाईनलमा
काठमाडौं । आयोजक भारत र कुवेतबीच साफ च्याम्पियनसिपअन्तर्गत समूह चरणको अन्तिम खेल बराबरीमा टुंगिएको छ । पहिलो हाफमा भारतका कप्तान सुुनिल क्षेत्रीको गोलबाट लिएको अग्रतालाई जोगाउन नसक्दा सविक विजेता भारत कुवेत १–१ को बराबरीमा रोकिएको छ ।
बराबरीपछि कुवेत समूह एको विजेता बनेको छ । कुवेत र भारत दुवै यसअघि नै सेमिफाइनल पुगिसकेका थिए । भारत समूह उपविजेता बनेको छ । समूह बीको सेमिफाइन पुग्ने टोलीको भने बुधबारमात्र पक्का हुनेछ । कान्तिरभा फुटबल मैदानमा मंगलबार भएको खेलमा सुनिलको गोलबाट भारतले पहिलो हाफको इन्जुरी समयमा गोल गरेका थिए ।
कर्नरबाट आएको बललाई सुनिलले पोष्टको दिशा दिएका थिए । उनले साफ च्याम्पियनसिपमा सर्वाधिक गोल गर्ने अस्फाक अलिको २३ गोलको बराबरी गरेका छन् । भारतीय टोलीका लागि भने सुनिलको त्यो ९२ औं गोल थियो । अनवर अलिको आत्मघाती गोलमा खेल बराबरी भएको थियो । इन्जुरी समयको दोस्रो मिनेटमा विपक्षी खेलाडीको आक्रमण रोक्ने क्रममा अनवरले आत्मघाती गोल गरेका थिए ।
समूह बीबाट सेमिफाइनल पुग्ने टोलीको टुंगो लाग्ने छ । च्याम्पियनसिपमा बुधबार बहराइन र माल्दिभ्स तथा बंगलादेश र भुटानबीच प्रतिस्पर्धा हुनेछ । बहराइनको ६ अंक छ भने माल्दिभ्स र बंगलादेशको समान ३ अंक छ । दुवै खेल हारेको भुटान प्रतियोगिताबाट बहिरिसकेको छ । सेमिफाइनमा कुवेतले समूह बीको उपविजेता र भारतले समूह बीको विजेताको सामना गर्नेछ ।



















