युवा संघले भ्याली फुटसल च्याम्पियनसिप आयोजना गर्ने , विजेता टीमलाई दुई लाख पुरस्कार
काठमाडौं । नेकपा एमालेको भातृ संगठन युवा संगठन राष्ट्रिय युवा संघ नेपालले काठमाडौं उपत्यका स्तरीय भ्याली फुटसल च्याम्पियनसिप आयोजना गर्ने भएको छ ।
असार १४ गतेदेखि सुरु हुने प्रतियोगिताको सबै तयारी पूरा भएको युवा संघले सोमबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ । प्रतियोगिताको विजेता टिमले २ लाख र उपविजेताले १ लाख नगद पुरस्कार पाउनेछन् । उत्कृष्ट एक जना खेलाडी र उत्कृष्ट गोल रक्षकलाई समान १०/१० हजार दिइनेछ ।
प्रतियोगितामा काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला स्थित स्थानीय तहका सबै २२४ वडाका १६ देखि २४ उमेर समूहका युवाहरुको विभिन्न फुटसल टिमलाई सहभागिता गराइने अध्यक्ष छितिज थेवेले जानकारी दिनुभयो ।
उपत्यकाका २१ वटै स्थानीय तहबाट असार १४ गतेदेखि २२ गतेसम्ममा पालिका च्याम्पियनसिपका लागि आ-आफ्नो पालिकामा वडास्तरीय च्याम्पियनसिप खेलाइनेछ र पालिका च्याम्पियनहरुका बीचमा असार २३ गते भव्य समारोहबीच फाइनल खेल हुने युवा संघले जनाएको छ ।
फुटसल आयोजना गर्नुको मुख्य उद्देश्य नेपालमा फुटसल खेलको व्यवसायिक प्रवर्द्धनमा महत्वपूर्ण योगदान गर्नु हो । साथै यस खेलका माध्यमबाट खेल र खेलाडीप्रति आम नागरिक, संघ(संस्था तथा राजनीतिक दलहरुलाई समेत प्रेरित गर्दै सरकारलाई खेल र खेलाडीप्रति जवाफदेही बनाउनु प्रतियोगिताको आयोजनाको उद्देश्य रहेको युवा संघले जनाएको छ । यसअघि युवा संघले केपी ओली कप फुटबल प्रतियोगिता सम्पन्न गरेको थियो ।




















