तेह्रथुमका नविन र विवेकलाई प्रदेश स्तरीय ब्याडमिन्टनको उपाधि

वेलकम खबर
असार २, २०८०

ताप्लेजुङ। ताप्लेजुङमा सञ्चालित कोशी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिताको उपाधि तेह्रथुमका नवीन सिलवाल र डीबी कन्दङवाले जितेका छन् । बिहीबारदेखि सञ्चालित प्रतियोगिताअन्तर्गत मेन्स डबल सिनियरतर्फ मोरङका महेश खड्का र लाक्पा शेर्पाको जोडीलाई पराजित गर्दै उपाधि जितेका हुन् । विजेताले ३० र उपविजेताले २० हजार नगदसहित कप तथा मेडल हात पारे ।
जिल्ला ब्याडमिन्टन संघ ताप्लेजुङले आयोजना गरेको प्रतियोगितामा इलाम, सोलुखुम्बु, खोटाङ र ओखलढुङ्गाबाहेकका १० जिल्लाका खेलाडीको सहभागिता थियो । यता भेट्रान्स डबल ४५ वर्षमाथिको प्रतियोगितामा पाँचथरका दीपककुमार आङदेम्बे र गणेशकुमार राईको जोडी विजेता बन्यो । उनीहरूले पाँचथरकै रामराज आङदेम्बे र युगमणि लिम्बूको जोडीलाई पराजित गरे रामराज जिल्ला समन्वय समिति पाँचथरका समन्वय प्रमुख पनि हुन् । उपविजेता उनीहरूले १५ हजार रुपैयाँमा चित्त बुझाउनुपर्‍यो भने विजेताले २५ हजार रुपैयाँ पाए ।

यही समयमा सञ्चालित तेस्रो मेयर कप जिल्लास्तरीय ब्याडमिन्टन मेन्स डबल जुनियरतर्फको उपाधि भने भुपेन्द्र लिम्बू र आन्द्रियास लिम्बूले हात पारे । उनीहरूले वसन्त तामाङ र दक्ष लिम्बूको जोडीलाई पराजित गरे ।

विजेताले २० हजार र उपविजेताले १५ हजार रुपैयाँ प्राप्त गरे । मिक्स्ड डबल्सतर्फको प्रतियोगितामा शिव मगर र सरुना गुरुङको जोडी उपाधि जित्न सफल भयो । रेशिका गुरुङ र आन्द्रियास लिम्बूले उपविजेतामा चित्त बुझाउनुपर्‍यो । उनीहरूले १५ र १० हजार नगद पुरस्कार प्राप्त गरे । कर्मचारी डबल्सतर्फ खेम गुरुङ र लक्ष्मण घतानीले जित हासिल गरे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*