नेपालले जोगायो एकदिवसीय मान्यता
काठमाडौ । नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता जोगाएको छ । आईसीसी विश्वकप क्रिकेट लिग टू मा यूएईमाथि १७७ रनको जितसँगै नेपालले एकदिवसीय मान्यता जोगाएको हो । लिगमा अब नेपालले २ खेल खेल्न बाँकी छ । दुई खेल जिते जिते सिधै विश्वकप छनोटमा पुग्नेछ ।
जारी शृखंलामा लगातार दोस्रो जितपछि नेपालले अमेरिकालाई पनि पछि पारेको छ । नेपालले सात राष्ट्र सहभागी लिग टू मा चौथो स्थानमा उक्लिएको छ । बाँकी दुई खेल जितेमा नेपाल शीर्ष तीनमा रहँदै विश्वकप क्वालिफायरमा छनोट हुनेछ ।यूएईको हारसँगै अमेरिकाको पनि ओडीआई मान्यता जोगिएको छ । लिग टू को शीर्ष पाँच भित्र पर्ने टिमको ओडीआई मान्यता कायम रहने छ भने शीर्ष ३ टिमले विश्वकप छनोट खेल्न पाउने छन् । यूएईले ओडीआई मान्यता कायम राख्नका लागि अब प्लेअफ क्वालिफार खेल्नुपर्नेछ ।
लिग टूको आइतबारको खेलमा नेपालले घातक प्रदर्शन गर्यो । टस जितेर पहिला बलिङ गरेको नेपालको ओपनिङ खराब रह्यो । तर मध्यक्रममा ब्याटरले आफ्नो जिम्मेवारी निभाउँदा नेपालले २४८ रनको सम्मानजनक योगफल खडा गरेको थियो ।
२४९ रनको लक्ष्य पछ्याएको यूएईलाई सुरुदेखि नै दबावमा राख्दै नेपाली स्पिनरहरुले घातक बलिङ गरे । यूएई २२।५ ओभरमा ७१ रनमा अलआउट हुँदा नेपाल १७७ रनले विजयी भयो । रन अन्तरले हिसाबमा ओडीआईमा यो नेपालको अहिलेसम्मकै फराकिलो जित हो । यसअघि २०२१ सेप्टेम्बरमा नेपालले पीएनजीलाई १५१ रनले पराजित गरेको थियो ।
यूएईविरुद्ध ललित राजवंशीले सानदार प्रदर्शन गरे । राजवंशीले ७।५ ओभरमा २ मेडन राख्दै ५ विकेट लिए । सन्दीप लामिछानेले ४ ओभरमा १४ रन खर्चेर २ विकेट लिदा सोमपाल कामीले ५ ओभरमा ३ मेडन राख्दै जम्मा ६ रन खर्चेर १ विकेट लिए । दीपेन्द्र सिंह ऐरी र गुल्शन झाले समान १ विकेट लिए ।



















