फाईनलमा फ्रान्स र अर्जेन्टिना भिडने ,गोल्डेन बुट र गोल्डेन बलमा मेसीकै अग्रता

वेलकम खबर
मंसिर २९, २०७९

काठमाडौं । कतारमा जारी फिफा विश्वकप २०२२ मा फाइनल समिकरण पुरा भएको छ। हालसम्म ६४ मध्ये ६२ खेल सकिएका छन्। ४ राष्ट्र (क्रोएसिया, अर्जेन्टिना, फ्रान्स र मोरक्को) ले अबका बाँकी चार खेल खेल्नेछन्। नेपाली समय अनुसार आइतबार राति ८:४५ बजे लुसेल रंगशालामा फ्रान्स र अर्जेन्टिनाले उपाधिका लागि खेल्नेछन्। यस्तै तेस्रो स्थानका लागि मोरक्को र क्रोएसिया शुक्रबार राति खलिफा इन्टरनेशनल स्टेडियमा खेल्नेछन्। यो सँगै फ्रान्स र अर्जेन्टिनामध्ये एकले उपाधि जित्ने पक्का छ।

यस्तै प्रतियोगिताभर सर्वाधिक गोल गर्ने खेलाडीलाई फिफाले गोल्डेन बुट अवार्ड प्रदान गर्दै आएको छ।यसपालि फाइनलमा पुगेका फ्रान्स र अर्जेन्टिनाका खेलाडीनै गोल्डेन बुट र गोल्डेन बलको दौडमा अगाडि देखिएका छन्।फ्रान्सका केलियन एम्बाप्पेले लगातार दोस्रो खेलमा गोल गर्न नसक्दा कतारमा जारी फिफा विश्वकप -२०२२ मा गोल्डेन बुटको दौडमा सुरूदेखिनै अगाडि रहेका उनलाई अर्जेन्टिनाका कप्तान लिओनल मेसीले उछिनेका छन्।

गोल्डेन बुटमा अर्जेन्टिनी कप्तान लिओनेल मेसीसँगै फ्रान्सका युवा फरवार्ड केलियन एम्बाप्पे बीच प्रतिस्पर्धा छ। दुवै खेलाडीले समान ५-५ गोल गरेका छन्। असिस्टको आधारमा लिओनेल मेसी शीर्षस्थानमा छन्।

फिफाको नियम अनुसार गोल्डेन बुट विजेताको निर्धारणमा दुई वा सो भन्दा बढी खेलाडीको समान गोल भएको अवस्थामा असिस्ट संख्या गणना हुनेछ। असिस्ट पनि बराबरी भए कम मिनेट खेल्ने खेलाडीले गोल्डेन बुट पाउनेछन्। हाल मेसीको ३ असिस्ट र एम्बाप्पेको २ असिस्ट छ।

प्रतियोगिताको उत्कृष्ट खेलाडीले प्राप्त गर्ने गोल्डेन बलमा खेलाडीको सबै प्रदर्शन हेरिन्छ । यसमा खेलाडीले आफ्नो टोलीका लागि गरेको योगदान मापन गरिन्छ। हालको अवस्थामा मेसी नै गोल्डेन बलको पनि दावेदार छन्।

मेसी सर्वाधिक असिस्टको सूचीमा पनि फ्रान्सका ग्रिजमनसँग बराबरीमा छन्। मेसी र ग्रिजमनले समान ३-३ असिस्ट दिएका छन्।

लिओनल मेसी (अर्जेन्टिना):


अर्जेन्टिनाका कप्तान लिओनल मेसीले जारी विश्वकपमा ५ गोल र ३ असिस्ट गर्दै गोल्डेन बुट र गोल्डेन बलको दौडमा सबैभन्दा अगाडि छन्।

अन्तिम विश्वकप खेलिरहेका ३५ वर्षीय मेसीले समूह सी को पहिलो खेलमा साउदी अरेबिया विरूद्ध पेनाल्टीमा गोलको खाता खोलेका थिए। समूहको दोस्रो खेलमा मेक्सिकोविरूद्ध मेसीले एक गोल गर्नुका साथै एक असिस्ट गरेका थिए। पोल्याण्ड विरूद्ध भने उनले पेनाल्टी प्रहार गरे पनि गोल गर्न सकेनन्।

अन्तिम १६ मा अष्ट्रेलिया विरूद्ध जित निकाल्दा मेसीले एक गोल गरेका थिए। क्वाटरफाइनलमा मेसीले नेदरल्याण्ड्स विरूद्ध एक गोल गर्नुका साथै एक असिस्ट गरेका थिए। यस्तै सेमिफाइनलमा क्रोएसिया विरूद्ध १ गोल र १ असिस्ट दिएका छन्।

७ पटकको बालोन डी’ओर विजेता मेसीलाई यो पटक विश्वकपको गोल्डेन बुट र गोल्डेन बल जित्ने मौका छ। यसका लागि फाइनलमा फ्रान्ससँगको खेल निर्णायक हुनेछ।

केलियन एम्बाप्पे (फ्रान्स):


फ्रान्सका २३ वर्षीय युवा एम्बाप्पेले जारी विश्वकपमा ५ गोल गरिसकेका छन्। नकआउट चरणको पछिल्लो दुई खेलमा गोल बिहिन र असिस्ट दिन नसकेका उनले ६ खेलबाट ५ गोल गरेका हुन्। यो सँगै हालसम्म ५ गोल र २ असिस्ट दिएका उनी मेसीभन्दा पछि परेका छन्।

समूह चरण अन्तर्गत समूह डी रहेको फ्रान्सका लागि पहिलो खेलमा अष्ट्रेलिया विरूद्धको १ गोल गरेका उनले दोस्रो खेलमा डेनमार्क विरूद्ध दुई गोल गरे। यस्तै तेस्रो खेलमा ट्युनिसिया विरूद्ध गोल गर्न सकेनन् तर उनले दुई असिस्ट दिएका थिए।

प्री क्वाटरफाइनलमा पोल्याण्डविरूद्ध २ गोल गरेका उनले इंग्ल्यान्ड र मोरक्कोविरूद्ध भने गोल गर्न सकेनन्। अर्जेन्टिनाविरूद्धको खेलले गोल्डेन बुटको तय गर्नेछ।

ओलिभर जिरउड (फ्रान्स):


फ्रान्सका ओलिभर जिरउडले जारी विश्कवमपा ४ गोल गर्दै मेसी र आफ्नै देशका केलियन एम्बाप्पेलाई पछ्याइरहेका छन्। उनले हालसम्म असिस्ट भने गरेका छैनन्।

३६ वर्षीय जिरउडले यसै विश्वकपमार्फत फ्रान्सका लागि सर्वाधिक गोल गर्ने कीर्तिमान समेत आफ्नो नाममा लेखाएका छन्। समूह चरण अन्तर्गत पहिलो खेलमा अष्ट्रेलिया विरूद्ध दुई गोल गर्दै उनले फ्रान्सका लागि सर्वाधिक ५१ गोल गर्ने थियरी हेनरीको कीर्तिमान बराबरी गरेका थिए।

समूह डी रहेको फ्रान्सका लागि उनले पहिलो खेलमा अष्ट्रेलियाविरूद्ध २ गोल गरेका थिए भने। दोस्रो खेलमा डेनमार्क र तेस्रो खेलमा ट्यूनिसियाविरूद्ध गोल गर्न सकेनन्।

अन्तिम १६ मा पोल्याण्ड विरुद्ध एक गोल गरेका जिरउडले इंग्ल्याण्डविरूद्धको क्वाटरफाइनलमा १ गोल गर्दै कुल गोल संख्या ४ पुर्‍याएका छन्। सेमिफाइनलमा मोरक्कोविरूद्ध पनि उनले गोल गर्न सकेनन्।

जुलियन अल्भारेज (अर्जेन्टिना)


अर्जेन्टिनाका २२ वर्षिया युवा जुलियन अल्भारेजले जारी विश्वकपमा ४ गोल गर्दै गोल्डेन बुटको दौडमा उभ्याएका छन्।

सेमिफाइनलमा क्रोएसियाविरूद्ध २ गोल गरेका अल्भारेजले यो विश्वकपमा आफ्नो गोलसंख्या ४ पुर्‍याएका छन्। उनले यसअघि पोल्याण्ड र अष्ट्रेलियाविरूद्ध पनि समान १/१ गोल गरेका थिए। उनले हालसम्म असिस्ट भने गरेका छैनन्। यदि फाइनलमा फ्रान्सविरूद्ध २ वा सो भन्दा बढी गोल गरे भने उनले गोल्डेन बुट जित्ने सम्भावना छ।

प्रतियोगिताभर सबैभन्दा बढी गोल गर्ने खेलाडीले पाउने गोल्डेन बुट अघिल्लो संस्करणमा इङ्ल्याण्डका कप्तान ह्यारी केनले पाएका थिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*