आसामको असर नेपाली उत्पादनमा

वेलकम खबर
भदौ १२, २०७९

ताप्लेजुङ । फुङलिङ नगरपालिका–९ हाङदेवा निवासी सञ्चपाल मादेन यति बेला अलैंची बगानमा व्यस्त छन् । यो वर्ष १७ देखि २० मन अलैंची उत्पादन गर्ने लक्ष्य राखेका उनलाई भने घट्दो मुल्यले चिन्तित बनाएको छ ।
फुङलिङ नगरपालिका–१ को तीनधारे र मूलपानी जोरखोलाको आफ्नै जग्गा र हाङदेवा पहिरो छेउ बागेनीको बाँझो जग्गा १५ वर्षका लागि भाडामा लिएर अलैंचीको बगान लगाएर उनले खेती गर्दै छन् । १९ मन अलैंची फलाएका मादेनलाई सदरमुकामका राजमणि मिश्रले प्रतिमन ४० किलो० १ लाखका दरले मूल्य दिने प्रस्ताव गरेका थिए । अघिल्लो वर्ष प्रतिमन ८० हजारका दरले मुल्य लिएका उनले अझै बढ्न सक्ने अपेक्षामा बिक्री गरेनन् । त्यही अलैंची दुई वर्ष पर्खिएर २५ हजार प्रतिमनले बिक्री गर्नुपर्‍यो ।
त्यही पनि हतोत्साही नभई खेतीमा लागेका उनलाई अब चाहिँ अलैंची बगान रुँगेर खान पुग्छ कि पुग्दैन भन्ने चिन्ता लाग्न थालेको छ । विगतमा उत्पादन हुने समयमा मूल्य बढ्ने र बिस्तारै घट्दै जाने भए पनि अहिले उत्पादनकै समयमा राम्रो मूल्य छैन । अहिले प्रतिमन २८ हजार रुपैयाँ रहेको सदरमुकाम फुङलिङका अलैंची व्यवसायी भद्र रेग्मीले जनाए । यो प्रतिकिलो सात सय रुपैयाँ मात्रै हो । गत वर्ष नेपालबाटै सबैभन्दा बढी निर्यात गर्नेमध्येको झापा बिर्तामोडको ओम पाथीभरा स्टोरका ओम बिमलीले भारत आसामको उत्पादनका कारण नेपाली अलैंचीले मूल्य पाउन कठिन भएको दाबी गरे । ‘हाम्रोमा पहाडतिर उत्पादन सुरु भयो, अबको एक महिनामा भारत आसामको अलैंची पनि बजारमा आइसक्छ,’ उनले भने, ‘त्यहाँका किसानले स्टक गर्दैनन्, जति बजार मूल्य छ, त्यतिमा बिक्री गरिहाल्छन्, हाम्रो बिक्री हुन कठिन हुन्छ ।’

स्थिर मूल्य नभएकाले नेपाली किसान मूल्यको पर्खाइमा बस्ने तर आसामका किसानले बिक्री गरिहाल्ने भएकाले पनि नेपाली अलैंची सहजै नजाने उनको बुझाइ छ । आसामपछि भारतीय व्यापारीले सिक्किमको अलैंची किन्छन् । नेपाली अलैंची पनि उत्पादनको ९८ प्रतिशत भारत निर्यात हुने गरेको छ । भारत हुँदै पाकिस्तान र खाडी राष्ट्रमा बिक्री हुन्छ । आसाम र सिक्किमको उत्पादन सकिएर बाहिरबाट माग आए नेपाली अलैंचीको मूल्य बढ्छ । बिमलीका अनुसार गत वर्ष प्रतिमन ५२ हजार रुपैयाँसम्म पुगेको थियो । तर यो मूल्य लामो समय नरहेको उनले जनाए । अझै बढ्ने आसमा त्यो बेला पनि किसान र कारोबारीले बिक्री नगरेको विमली बताउँछन् ।

बिर्तामोडमा गत वर्षकै १२ हजार मन अलैंची बिक्री हुन बाँकी रहेको बिमलीको अनुमान छ । नेपालका प्रायः सबै जिल्लाको अलैंची झापाको बिर्तामोड र सुनसरीको इटहरीमा जम्मा हुन्छ । यहाँ पुच्छर भएको, पुच्छर काटेको (कटिङ), जिर्मले, ठूलो र राम्रो दाना गरी चार किसिमको मूल्य राखिएको छ । भारतीय व्यवसायीले त्यहीअनुसार किन्छन् । अलैंची दसैं, तिहार, छठ, रमजानजस्ता पर्व तथा विवाहका बेला बढी बिक्री हुन्छ । यो समयमा मसला बनाउन अधिक प्रयोग गरिने व्यवसायीहरू बताउँछन् । असमको अलैंचीले मात्रै चार महिना धान्ने भारतीय व्यापारीको दाबी छ ।

एक दशकयता मात्रै लगाइएको आसामको माटो नयाँ भएको र किसान अलैंची खेतीतिर आकर्षित भएका कारण त्यहाँ उत्पादन बढ्दै गएको हो । आसामपछि सिक्किमको बिक्री हुँदासम्म नेपालको पालो आउन कठिन हुन थालेको छ । सरकारले मूल्य निर्धारण नगरेको र नेपालमा बजार नभएकाले अलैंचीको मूल्य प्रत्येक दिन घटबढ हुने गरेको छ । ०६९ मा प्रतिमन अलैंची १ लाख २० हजार रुपैयाँसम्ममा बिक्री भएको थियो  ।ekantipur

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*