साफ यू-२० : नेपालको पोस्टमा भारतले हान्यो आधा दर्जनभन्दा बढी गोल
काठमाडाैं। साफ यू-२० च्याम्पियनसिप फुटबलको तेस्रो खेलमा साविक विजेता भारतले नेपालको पोस्टमा आधा दर्जनभन्दा बढी गोल बर्षाएको छ।
भुवनेश्वरस्थित कालिंगा स्टेडियममा आइतबार साँझ सम्पन्न खेलमा आयोजक भारतले नेपाललाई ८-० गोल अन्तरले पराजित गरेको हो।
भारतलाई जित दिलाउन पार्थिव सुन्दर गोगोइले दुई गोल गरे। यता,टाइसन सिंह, हिमान्सु जान्ग्रा, टन्कधर बाग, मोहमद सुहिब, सुभो पाउलले १/१ गोल गरे।
खेलको ३२औं मिनेटमा टाइसन सिंहले गोल गर्दै भारतलाई सुरुआती अग्रता दिलाएका थिए। नेपालका गोलरक्षक इश्वर गुरुङको गल्तीको फाइदा उठाउँदै उनले हातबाट फुस्किएको बललाई हेडरमार्फत् गोलमा परिणत गरे।
पहिलो हाफ १ गोलले अगाडि रहेको भारतले दोस्रो हाफमा थप ७ गोल थप्यो। ५१औं मिनेटमा पार्थिवसुन्दर गोगोइले गोल गर्दै भारतको अग्रता दोब्बर बनाए। उनले पेनाल्टी क्षेत्रभित्रबाट गरेको शक्तिशाली प्रहार गोल भएको थियो।
त्यसको दुई मिनेट पछि अर्थात् ५२औं मिनेटमा पार्थिवले व्यक्तिगत दोस्रो गोल गर्दै भारतको अग्रता ३-० को बनाए। थ्रु पासमा अफसाइड बिट गर्दै गरेको चिप प्रहारमा गोलमा परिणत भयो।
६२अौं मिनेटमा गिमानाले गोल गर्दैै भारतलाई ४-० ले अघि बढाए। ७१अौं मिनेटमा भारतले पेनाल्टी पायो। उक्त पेनाल्टीलाई झाङ्ग्राले गोल गर्दै स्कोर ५-० पुर्याए।
७८अौं मिनेटमा मोहम्मदले गोल गर्दै भारतलाई ६ गोलले अघि बढाए। ८९अौं मिनेटमा गोल सिंहले गर्दै ७-० को फराकिलो अग्रता दिलाए। इन्जुरी समयमा गोल गर्दै पउलले भारतलाई ८-० को जित दिलाए। यस हारसँगै नेपाल अंक तालिकाको तेस्रो स्थानमा झरेको छ। बंगलादेश ३ खेलमा ९ अंकका साथ शीर्ष स्थानमा छ । नेपाल र भारतको समान ३ खेलमा ६ अंक भएपनि हेड टु हेडमा भारत अघि छ। १-१ अंक जोडेका माल्दिभ्स र श्रीलंका प्रतियोगिताबाट बाहिरिसकेका छन्।



















