राजीनामा दिएको २४ दिन हुँदा पनि छाडेनन् जनार्दन शर्माले मन्त्री क्वार्टर

अर्थ मन्त्रालयमा फर्किने सम्भावना उच्च
वेलकम खबर
साउन १५, २०७९

काठमाडौं । अर्थमन्त्रीबाट राजीनामा दिएको थुप्रै दिन बितिसक्दा पनि जनार्दन शर्माले मन्त्री क्वार्टर छाडेका छैनन्।

चालु आर्थिक वर्ष २०७९–८० को बजेट निर्माणका क्रममा अनधिकृत व्यक्ति प्रवेश गराई करको दरमा हेरफेर गरेको आरोप शर्मालाई लागेको थियो । त्यसपछि उनमाथि छानबिन गर्द प्रतिनिधिसभाले गत असार २२ गते संसदीय विशेष समिति गठन गरेको थियो। सोही दिन शर्माले अर्थमन्त्री पदबाट राजीनामा दिएका थिए ।

तर, आजसम्म उनले मन्त्री क्वार्टर भने छाडेका छैनन् । विशेष समितिले छानबिनको प्रतिवेदन सभामुख अग्नि सापकोटालाई गत शुक्रबार बुझाइसकेको छ । यद्यपि प्रतिवेदनमा करको दर निर्धारणमा अनधिकृत व्यक्तिको प्रवेश गरेको नदेखिएको निष्कर्ष निकालिएको उल्लेख छ ।

प्रतिवेदनको निष्कर्षमा बजेटमा ‘समितिले गरेको अर्थ मन्त्रालयको पदाधिकारी, अर्थमन्त्रीबाट प्राप्त गरेको कागजात, सीसीटीभी फुटेजलगायतको प्रमाणका आधारमा करका दर निर्धारणमा अनधिकृत प्रवेश नदेखिको’ भनिएको छ । त्यसका साथै प्रतिवेदनमा अनधिकृत व्यक्तिको प्रवेश नदेखिएको विषयपछि अनधिकृत व्यक्तिको प्रभावको प्रसंग सान्दर्भिक नरहेको उल्लेख छ ।

आरोप गलत भएको निष्कर्षसँगै शर्मा फेरि अर्थ मन्त्रालयमा फर्किने सम्भावना उच्च भएको छ । शर्माले राजीनामा दिएसँगै अर्थमन्त्रीको जिम्मेवारी पनि प्रधानमन्त्री शेरबहादुर देउवाले नै अर्थ मन्त्रालय समाल्दै आएका थिए । यत्तिका दिन आफैँले अर्थ मन्त्रालय समालेकाले देउवाको पनि अर्थको जिम्मेवारी शर्मालाई नै दिने मनसाय रहेको बुझिन्छ ।

राजीनामा दिएको २४ दिन हुँदा पनि मन्त्री क्वार्टरसमेत नछोडेका शर्मा आफूलाई लागेको आरोप गलत साबित भई आफू नै अर्थमा फर्किनेमा विश्वस्त रहेको स्रोत बताउँछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*