पेरुलाई हराउँदै अष्ट्रेलिया विश्वकपमा छनोट, ३२ मध्ये अब एउटा राष्ट्र छनोट हुन बाँकी
काठमाडौं । दक्षिण अमेरिकी प्रतिद्धन्द्धी पेरुलाई पराजित गर्दै एसियाली राष्ट्र अष्ट्रेलिया यसै वर्ष कतारमा हुने फिफा विश्वकप कतार २०२२ मा छनोट हुन सफल भएको छ ।
कन्टिनेन्टल प्ले अफको फाइनलमा पेरुलाई सडनडेथमा ५–४ ले पराजित गर्दै अष्ट्रेलिया २००६ पछि लगातार पाँचौं पटक विश्वकपमा छनोट हुन सफल भएको हो ।
निर्धारित र थप गरिएको अतिरिक्त समयमा पनि कुनै गोल निस्कन नसकेपछि खेल टाइब्रेकरमा पुगेको थियो । जसमा सव्सिच्युट गोलरक्षक एन्ड्रिउ रेडमेन नायक बने । उनले सडनडेथको अन्तिम पेनाल्टी बचाए ।
टाइब्रेकरमा अष्ट्रेलियाका आरोन मोए, क्रेइग गुडविन, एज्दिन रुस्टिक, जेमी माकलरेन र एवेर मविलले गोल गरे । अष्ट्रेलियाका मार्टिन बोएलको सुरुवाती पेनाल्टीमा गोल गर्न सकेनन् । अष्ट्रेलिया कतार विश्वकपमा छनोट हुने ३१औं टोली बनेको छ । अब कोस्टा रिका र न्युजिल्यान्डमध्येबाट एक टोलीले विश्वकपमा स्थान बनाउनेछ । त्यसपछि विश्वकपमा छनोट हुने सबै ३२ राष्ट्रको टुंगो लाग्नेछ ।



















