फेरी बढ्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य, निगमका कर्मचारीको पोशाक संरक्षण खर्च कटौती

वेलकम खबर
फाल्गुन २०, २०७८

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगम सञ्चालक समितिको बैठकले अघि राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर पाँच रुपैयाँका दरले वृद्धि गरेको हो ।

मूल्य बढेसँगै काठमाडौँ उपत्यकामा पेट्रोलको बिक्री मूल्य प्रतिलिटर १५०, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १३३ रुपैयाँ पुगेको छ ।

यस्तै निगमले आन्तरिकतर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर १० रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर १०० अमेरिकी डलर वृद्धि गरेको छ । निगमले एलपी ग्यासको मूल्य भने यथावत राखेको छ ।

निगमका कर्मचारीको पोशाक संरक्षण खर्च कटौती
पेट्रोलियम पदार्थको बिक्रीबाट चर्को घाटा व्यहोरेको नेपाल आयल निगमले कर्मचारीलाई उपलब्ध गराउँदै आएको पोशाक संरक्षण खर्च कटौती गरेको छ ।

निगम सञ्चालक समितिको विहिबार बसेको बैठकले घाटा न्यूनीकरणमा कर्मचारीका तर्फबाट योगदान गर्ने उद्देश्यले पोशाक संरक्षण भत्ता कटौती गरेको हो ।

सञ्चालक समितिको निर्णयसँगै निगमका स्थायी कर्मचारीले पोशाक संरक्षण भत्ता पाउने छैनन् । पोशाक संरक्षण खर्च कटौती भएपछि वार्षिक करिब ५० लाख रुपैयाँ खर्च न्यूनीकरण हुने निगमले जनाएको छ ।

यस्तै निगमले बिक्रेता कमिसन पनि हाललाई स्थगित गर्ने निर्णय गरेको छ । यसबाट पेट्रोलियम पदार्थको मूल्य बढेपनि बिक्रेताले कमिसन बापतको अतिरिक्त मूल्य पाउने छैनन् ।

यही फागुन ७ गतेको मूल्यमा आधारित कमिसन मात्र बिक्रेताले प्राप्त गर्ने निगमले जनाएको छ । कमिसन नबढेपछि निगमको लागत केही हदसम्म घटेको छ । बिक्रेताले मूल्य संरचनामा आधारित रहेर प्रतिलिटरको कायम मूल्यको करिब ३।३९ प्रतिशत कमिसन पाउँदै आएका छन् ।

पेट्रोलियम पदार्थको मूल्य बढेपनि आगामी १५ दिनमा करिब दुई अर्ब ५० करोड रुपैयाँ घाटा हुने निगमले प्रक्षेपण गरेको छ । चालू आर्थिक वर्षको फागुन महिनासम्म करिब २८ अर्ब रुपैयाँ नोक्सानी हुने अवस्था देखिएको निगमले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*