जाल्पा सामुदायिक लघुवित्तको आईपीओमा आजबाट आवेदन दिन सकिने
काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले आजदेखि आईपीओ निष्कासन तथा बिक्री खुला गरेको छ । लघुवित्तले ५ करोड २२ लाख रुपैयाँ बराबरको ५ लाख २२ हजार कित्ता आईपीओ निष्कासन गरेको हो ।
लघुवित्तले निष्कासन गरेको कुल ५ लाख २२ हजार कित्ता शेयरमध्ये ०.५ प्रतिशत अर्थात ८ हजार कित्ता कर्मचारीहरूलाई र सर्वसाधारणलाई छुट्याइएको शेयरमध्येको ५ प्रतिशत अर्थात २६ हजार १०० कित्ता सामूहिक लगानी कोषहरूलाई सुरक्षित गरेको छ। सर्वसाधारणले बाँकी ४ लाख ८७ हजार ९०० कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् ।
उक्त आइपीओमा छिटोमा माघ २५ गते र ढिलोमा फागुन ६ गतेसम्म आवेदन दिन सकिनेछ। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि ५ हजार २२० कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।
इच्छुक आवेदकले सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो शेयर वेबसाइट तथा एप मार्फत आवेदन दिन सक्नेछन् । आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ ।



















