उपत्यकमा ४० प्रतिशत मात्रै गाडी गुड्दै
काठमाडौं । सामान्य अवस्थाको तुलनामा पछिल्लो एक हप्तादेखि सडकमा ४० प्रतिशत मात्रै गाडी गुडिरहेका महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
कोरोनाको संक्रमण उच्च हुँदा सडकमा दिनदिनै गाडीको संख्या घट्दै गएको महाशाखाले जनाएको छ । जोर बिजोर प्रणाली लागु भए सँगै काठमाण्डौ उपत्यकामा चल्ने गाडीको संख्या झन धेरै घटेको छ । आज जोर गते जोर नम्बर प्लेटका गाडी मात्रै चलेका छन् ।
जोर बिजोर प्रणाली नमान्ने दुई सय ३० वटा सवारी साधनलाई कारबाही गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । तर अत्यावश्यक कामका लागि सञ्चालन हुने र तोकिएका गाडीमा जोरबिजोर प्रणाली लागू नहुने तीन वटै जिल्ला प्रशासन कार्यालयले स्पष्ट पारेका छन् ।
औषधि एवं स्वास्थ्य सामग्री बोकेका गाडी, एम्बुलेन्स, दमकल, शवबाहन, ग्यास र पेट्रोलियम पदार्थ बोकेका गाडीमा जोरबिजोर प्रणाली लागू नहुने जनाएका छन् । यस्तै खाद्यान्न, दुग्धजन्य पदार्थ, फलफूल, तरकारी, पानी, अण्डा, माछामासु, पशुपन्छी, दाना, एवं कृषि तथा पशुजन्य सामग्री बोक्ने गाडी सञ्चालन गर्न पाइनेछ ।
यसबीच कोरोना संक्रमण निकै बढेका कारण सचेत हुँदै नागरिक स्वयं पनि अत्यावश्यक काम नपरी सडकमा ननिस्किएका प्रहरीले जनाएको छ ।



















