तेरो पार्टी मेरो पार्टी नभनी कोरोना नियन्त्रणमा एकजुट हुनुपर्छ : प्रधानमन्त्री देउवा
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ नियन्त्रका लागि सबै एकजुट हुनुपर्ने बताएका छन् । शनिबार प्रमुख प्रतिपक्षी नेकपा एमालेले कोभिड नियन्त्रण गर्न माग गर्दै बुझाएको ज्ञापन पत्र बुझ्दै प्रधानमन्त्री देउवाले सबै मिलेर कोरोनाको तेस्रो लहरलाई परास्त गर्नुपर्ने बताएका हुन् ।
उनले कोरोना नियन्त्रण र रोकथामका लागि तेरो पार्टी, मेरो पार्टी नभनी सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिए । प्रधानमन्त्री देउवाले ओमिक्रोन भाइरस धेरै संक्रामक भएकाले सावधानी अपनाउन र सचेतना फैलाउन सरकारले पहल गरिरहेको पनि बताए ।
उनले आफूले सरकारको नेतृत्व गरेपछि कोभिड–१९ विरुद्धको खोप लगाउनेको संख्यामा वृद्धि भएको बताउँदै सबै खोप लगाउन योग्य नागरिकलाई दुवै मात्रा खोप लगाउने गरी सरकार अघि बढेको पनि बताए ।
एमाले उपाध्यक्ष सुवास नेम्वाङको नेतृत्वमा आएको प्रतिनिधिमण्डलले प्रधानमन्त्रीलाई कोभिड रोकथाम र उपचारका बारेमा ज्ञापनपत्र बुझाएको थियो ।एमालेले आफ्नो पार्टी नेतृत्वको सरकारले व्यवस्था गरेको कोभिडविरुद्धको खोपको समेत प्रभावकारी परिचालन गर्न नसकेको भन्दै सरकारको आलोचना गरेको छ ।



















