पुस मसान्तभित्र ६६ प्रतिशत जनसंख्यालाई खोप लगाइसक्ने सरकारी लक्ष्य पुरा भएन

वेलकम खबर
माघ १, २०७८

काठमाडौं । पुस मसान्तभित्र १८ वर्षमाथिका ६६ प्रतिशत जनसङ्ख्यालाई कोरोनाविरुद्धको खोप लगाइसक्ने सरकारको लक्ष्य पूरा हुन सकेन । अघिल्लो सरकारले पुस मसान्तभित्र ६६ प्रतिशत अर्थात् एक करोड ९९ लाख २२ हजार १६४ जनालाई पूर्ण मात्रामा खोप दिने घोषणा गरेको थियो ।

पुस मसान्त अर्थात्, शुक्रबारसम्ममा लक्षित जनसङ्ख्यामध्ये ५९।६ प्रतिशतले मात्रै पूर्ण मात्रा खोप लगाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ७८।६ प्रतिशतले खोपको कम्तीमा एक मात्रा लगाएका छन् । सरकारले १८ दिन अघि दैनिक ५ लाख खोप लगाइने योजना सार्वजनिक गरेको थियो । यसका बाबजुद ६६ प्रतिशत जनसंख्यालाई पुस मसान्तभित्र खोप लगाइसक्ने सरकारी लक्ष्य पूरा हुन नसकेको हो ।

पुस १२ गते एकैदिन ५ लाख ६८ हजार ३ सय १९ जनालाई खोप लगाउँदा प्रधानमन्त्री शेरबहादुर देउवाले बधाईसमेत दिएका थिए । त्यसपछि स्वास्थ्य मन्त्रालयले सूचना जारी गर्दै खोप लगाउन सर्वसाधारणलाई प्रेरित गरेको थियो । यद्यपि लक्ष्यअनुसार खोप लगाउन सरकार असफल देखिएको छ ।

गता साताको तथ्याङ्क हेर्ने हो भने दैनिक पाँच लाख मात्रा खोप लगाउने लक्ष्य पनि पूरा हुन सकेन । पुस २२ गते अर्थात् गत बिहीबार १ लाख २० हजार ६५३ मात्रा खोप लगाइएको थियो भने शुक्रबार २ लाख ६३ हजार ३ सय ७१ खोप लगाएको स्वास्थ्य मन्त्रालय जनाएको छ । यस्तै, शनिबार २ लाख ४३ हजार ४६० मात्रा, आइतबार ४५ हजार ४९३ मात्रा, सोमबार २ लाख १० हजार ५९४ मात्रा खोप लगाइएको थियो ।

यस्तै, मंगलबार १ लाख ८ हजार ४५७ र बुधबार २ लाख १४ हजार ५७ मात्रा खोप लगाएको स्वास्थ्य मन्त्रालयको आँकडाले देखाउँछ । यस्तै पुस २९ गते बिहीबार ३ लाख ५६ हजार ४ सय मात्रा खोप लगाएको मन्त्रालयले जनाएको छ ।

अहिले विद्यालयहरुमा १२ देखि १७ उमेर समूहका बालबालिकालाई खोप अभियान सञ्चालन भइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*