अब घर भाडामा बस्नेले पनि प्राधिकरणको छुट्टै मिटर लिइ ग्राहक बन्न सक्ने

वेलकम खबर
पुस १०, २०७८

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले अब घर भाडामा बस्नेले पनि प्राधिकरणको छुट्टै मिटर लिइ ग्राहक बन्न सक्ने र अपार्टमेन्ट तथा कोलनीमा बस्नेले छुट्टै मिटर लिएर ग्राहक बन्न सक्ने बताएकी छिन् । मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा उनले यसबाट शहरी क्षेत्रमा डेरा गरी बस्ने लाखौँ जनता लाभान्वित हुने बताइन् ।

मन्त्री भुसालले पेट्रोलियम पदार्थको आयात न्यूनीकरण र विद्युत खपतका नीति बनाएर प्रभावकारी कार्यान्वयन गरिने बताएकी छिन् ।

अबका दिनमा सङ्गठित क्षेत्रमा प्रयोग हुँदै आएको ग्यास चुल्होलाई विद्युतीय चुल्होले विस्थापित गर्ने नीति अख्तियार गरिएको बताइन् । उनले भनिन्, “विद्युत खपत गर्ने ठूला उद्योग स्थापनाका लागि प्रोत्साहन गर्ने र विद्युतीय सवारी साधनको प्रवद्र्धनदेखि हरेक क्षेत्रमा विद्युतीय उपकरण उपयोग गर्ने नीति लिएको छु । त्यसका लागि सरकारी एवं निजी क्षेत्रका सङ्घसंस्थासँग निरन्तर छलफल गरिरहेको छु ।”

विद्युत् वितरण विनियमावली २०६९ लाई परिवर्तन गरेर ग्राहकमैत्री विद्युत् वितरण विनियमावली बनाइएको उनले जानकारी दिइन् । मन्त्री भुसालका अनुसार अब ग्राहकले मागेको समयमा सहजै विद्युत् पाउनेछन् । एक सय केभिएसम्म विद्युत् सबैलाई तथा सामुदायिक डेरी, चिस्यान केन्द्र, खानेपानी, सिँचाइ क्षेत्रलाई २०० केभिएसम्म विद्युत् प्राधिकरणकै ट्रान्सफरमरबाट उपलब्ध हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*