इजरायलको मेडिकल छनोटमा श्रममन्त्रीको असन्तुष्ट

वेलकम खबर
मंसिर १, २०७८

काठमाडौं । इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा जाने नेपाली कामदारको स्वास्थ्य परीक्षणका लागि गरिएको स्वास्थ्य संस्था छनोटमा नेपालस्थित इजरायली दूतावासले अनुचित चलखेल गरेकोे भन्दै असन्तुष्टी बढेको छ ।

वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गरेको सूचीकरणमा नरहेका निजी क्षेत्रका चार वटा अस्पताल छनोट गरेपछि अनुचित चलखेलको आशंका बढेको हो ।

सूचीकरण नभएका अस्पताललाई स्वास्थ्य परीक्षणको अनुमति दिने विभागको निर्णयमा श्रम, रोजगारतथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठ (किसान) र निजी क्षेत्रका मेडिकल सञ्चालकहरूले गम्भीर असहमति जनाएका छन् ।

मन्त्रालयमा वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्नका लागि नियमित नवीकरण भएका संस्थाहरू रहेको अवस्थामा इजरायलको केयर गिभरमा जाने कामदारको स्वास्थ परीक्षणमा सूचीकरणमा नरहेका संस्था देखिनु अस्वभाविक भएको मन्त्री श्रेष्ठले बताए ।

विभागले गत शुक्रबार निर्णय गरी आइतबार सूचना प्रकाशित गर्दै स्टार अस्पताल सानेपा, ह्याम्स अस्पताल मण्डिखाटार, नेपाल मेडिसिटी हस्पिटल भैसेपाटी र मनमोहन मेमोरियल मेडिकल कलेज स्ययम्भूमा स्वास्थ्य परीक्षण हुने सुचना प्रकाशित गरेको थियोे । सोमबारदेखि शुरू भएको स्वास्थ्य परीक्षण मंसिर ५ गतेसम्म हुने विभागको सूचनामा उल्लेख छ ।

वैदेशिक रोजगार विभागले इजरायलमा दीर्घकालिन स्याहार केन्द्रमा सहायक कामदार (केयर गिभर) का लागि २०७८ असोज १० गते १६ सय जना छनोट गरेकोमा असोज २५ गते ‘लक्की ड्र’ मार्फत ११ सय ७५ कामदार छनोट गरेको छ । त्यसमध्ये ३ सय ५० महिला र १ सय ५० पुरुष गरी ५ सय जनाको स्वास्थ्य परीक्षण हुने विभागले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*