नेपालगन्ज मुगु हवाई उडान : एकतर्फी भाडा १२ हजार
काठमाडौं । मुगुको रारा विमानस्थलमा उडान गर्ने निजी एयरलाइन्सले कार्गोका नाममा दोब्बर भाडा असुल्न थालेका छन् । नेपालगन्जदेखि मुगु आउन यात्रु नभएको भन्दै एयरलाइन्सले एकतर्फी भाडा नै १२ हजार रुपैयाँ लिने गरेका हुन् ।
खाली जहाज बोलाउनुपरेको भन्दै दुवैतर्फको भाडा जोडेर १२ हजार रुपैयाँ लिन थालिएको एयरलाइन्सका कर्मचारीको दाबी छ । मुगुदेखि नेपालगन्ज जान प्रतिव्यक्ति ६ हजार ५ सय रुपैयाँ भाडा तोकिए पनि नेपालगन्जबाट मुगु आउने यात्रु नपाइने भन्दै बढी भाडा लिने गरेको एयरलाइन्सका कर्मचारी बताउँछन् ।
टिकट पाउन मुस्किल भएपछि महँगो भाडा तिरेर पनि यात्रु जहाज चढ्न पाउँदैनन् । हवाई टिकट नपाएर ४ र ५ दिनसम्म भौंतारिनुपरेको यात्रु बताउँछन् । नेपाल एयरलाइन्सले नियमित उडान नगर्दा यात्रुहरू मर्कामा परेका छन् ।
झन्डै १९ महिनापछि गत साता नेपाल एयरलाइन्सले उडान थाले पनि नियमित भएको छैन । नेपाल एयरलाइन्सको जहाजले मुगु–नेपालगन्ज उडानमा प्रतियात्रु ५ हजार ३ सय ३५ रुपैयाँ भाडा लिने गरेको छ ।



















