नेपाल पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा

वेलकम खबर
अशोज २७, २०७८

माल्दिप्स । नेपाल साफ च्याम्पियनसिपको इतिहासमा बुधबार पहिलो पल्ट फाइनल यात्रा तय गरेको छ । नेपाललाई फाइनल पुग्न एक अंक चाहिएकोमा बंगलादेशलाई राउन्ड रोबिनको आफ्नो अन्तिम खेलमा १–१ को बराबरीमा रोकेको हो ।

सन् १९९३ देखि सुरु भएको प्रतियोगितामा नेपालले फाइनल पुगेको यो पहिलो पल्ट हो ।खेलको ७९ औं मिनेटमा आफ्नो पेनाल्टी एरिया बाहिर बल ह्यान्ड गरेपछि बंगलादेशी गोलरक्षक अनिसुर रहमानलाई सिधै रातो कार्ड देखाइएको थियो र खेल नेपालको पक्षमा मोडिएको थियो । यसअघि बंगलादेशले मोहम्मद सुमन रेजाको गोलले अग्रता लिएको थियो ।

यो नतिजापछि नेपालको चार खेलबाट सात अंक भएको छ ।बंगलादेश भने चार अंकमै सीमित रह्यो र प्रतियोगिताबाट बाहिरियो । जित अथवा बराबरीमा फाइनल पुग्ने समीकरणमा रहेको नेपालले यो बराबरी नतिजा निकालेको हो ।नेपालले माल्दिभ्स र श्रीलंकालाई हराएयता भारतविरुद्धको खेल गुमाएको थियो । फाइनलमा नेपालको प्रतिद्वन्द्वी बुधबारकै दोस्रो खेलले गर्नेछ । त्यस खेलमा आयोजक तथा डिफेन्डिङ च्याम्पियन माल्दिभ्स र भारत खेल्दैछन् ।

बंगलादेशले नवौं मिनेटमा अग्रता लिएको हो । रेजाले हेडबाट गोल गरे ।फ्रिकिकमा प्राप्त बललाई अन मार्क रहेका रेजाले सजिलै गोल गरे । खेलको १५ औं मिनेटमा रोहित चन्द नजिकको दूरीबाट गोल गर्न चुके । गौतम श्रेष्ठले निकालेको पासमा उनको प्रहार बाहिरिएको थियो । दोस्रो हाफको ५२ औं मिनेटमा रेजा नै नेपाली गोलरक्षक किरण लिम्बूविरुद्ध वान टु वानमा बललाई पोस्टको दिशा दिन चुके । त्यसमा किरणले उत्कृष्ट बचाउ गरे ।

अञ्जन विष्टले ५९ औं मिनेटमा पेनाल्टी एरिया भित्रबाट गरेको प्रहार पोस्टको केही माथिबाट बाहिरिएको थियो । खेल सुरु हुन अगाडि टिम सूचीमा रहेका पुजन उपरकोटी भने मैदानमा उत्रन सकेनन् । टिम वार्म अपका क्रममा उनी घाइते भएका थिए र उनको स्थानमा विशाल राईले मौका पाएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*