बडादशैं शुरु : आज घटस्थापना

वेलकम खबर
अशोज २१, २०७८

काठमाडौं । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुन दसैं आज बिहीबारदेखि सुरु भएको छ । घटस्थापनाको साइत बिहान ११ बजेर ४६ मिनेटमा रहेको छ । आज चित्रा नक्षत्र र वैधृति योग परेकाले ११ः४६ बजेअघि चित्रा नक्षत्र र वैधृति योगको शान्ति गरेर घटस्थापना गर्नुपर्ने छ ।

दसैंको पहिलो दिन घटस्थापना गरिन्छ । घटः स्थापना अर्थात घैंटो, घडा वा कलश स्थापना गर्नु नै घटस्थापनाको मूल अर्थ हो । घडाको मुखमा भगवान विष्णु, गलामा महादेव, मूलमा ब्रह्मा तथा मध्य भागमामा देवी शक्तिको निवास मानेर सोही अनुसार पूजा गर्ने गरिन्छ ।

आज बिहानै नित्यकर्म सकेर गाईको गोबरले पुजा कोठा अथवा जमरा राख्ने स्थानलाई शुद्धिकरण गरी शुद्ध स्थानबाट ल्याइएको बालुवा वा माटोमा जौँ रोपिन्छ । यसलाई नै जमरा राख्ने भनिन्छ ।

आजका दिन स्थापना गरिएको घडाको जल, नौ दिनसम्म देविलाई पूजा गएिको टीका प्रसाद र घडामा राखिएको जमरा विजयादशमीका दिन दुर्गादेवीको प्रसादको रुपमा मान्यजनबाट ग्रहण गरिन्छ । घटस्थापना गरेर राखिएको जमरा कोजाग्रत पूर्णिमाकै दिन चोखो स्थानमा लगी विसर्जन गरिन्छ ।

विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म आफ्ना मान्यजनबाट देवीको प्रसाद र आशीर्वाद ग्रहण गरिन्छ । पूर्णिमाका दिन धनधान्यकी प्रतीक महालक्ष्मीको ब्रत बसी रात्रिमा जाग्राम रहेर पूजा लगाई ऐश्वर्य प्राप्तिको कामना गरिन्छ ।

नवरात्रको अवधिभर पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौ दिन स्कन्दमाता, छैठौँ दिन कात्यायनी, सातौ दिन कालरात्री, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गरिन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*