कोरोना बीमा भुक्तानी रोकिएको २ महीनापछि अर्थमन्त्रीको चासो
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले विभिन्न बीमा कम्पनीहरुले भुक्तानी गर्न बाँकी कोरोना बीमाको सम्बन्धमा छलफल थालेका छन् ।
बुधबार मन्त्री शर्माले बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवाल सहितका पदाधिकारीहरुलाई बोलाएर कोरोना बीमा भुक्तानीको लागि आवश्यक पर्ने स्रोत साधन र उपायका विषयमा छलफल गरेका हुन् ।
सरकारले केही समयअघि कोरोना बीमाको भुक्तानी हुन नसकेको दाबी रकमका सम्बन्धमा ठोस निर्णय नगर्ने संकेत गरेको थियो । तर बुधबार अर्थमन्त्री शर्माले आफैँले बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवाललाई बोलाएर कोरोना बीमाको भुक्तानीको विषयमा छलफल गरेका हुन् ।
सरकारले नै आवश्यक रकम निकासी नगरेपछि निर्जीवन बीमा कम्पनीहरूले गत साउनको दोस्रो सातादेखि कोरोना बीमाको दाबी रोकेका छन् । यसअघिको सरकारले पनि यस विषयलाई बेवास्ता गरेको थियो । अहिले आएर अर्थ मन्त्रालय यस विषयमा सकारात्मक देखिएको छ ।
कोरोना बीमा मापदण्डअनुसार यसमा सरकारले साढे ३ अर्बभन्दा माथिको दायित्व वहन गर्नुपर्ने हुन्छ । कोरोना बीमाको चालू हुँदाको अन्तिम दिन अर्थात् गत असार मसान्तसम्म कुल १३ अर्ब १४ करोड १७ लाख ३१ हजार ६०० रुपैयाँको बीमा दाबी परेको छ ।
त्यसअनुसार सरकारले कोरोना बीमामा ९ अर्ब ६४ करोड बराबरको दायित्व लिनुपर्छ । तर, सरकारले यसका लागि हालसम्म कत्ति पनि रकम निकासी गरेको छैन । त्यसैले कम्पनीहरूले कोरोना बीमाको दाबी भुक्तानी नै स्थगन गरेका थिए ।
साथै, बीमा कम्पनीहरूले एडभान्सको रूपमा थप १ अर्ब बराबरको भुक्तानी गरेका छन् । बीमाक्षेत्रबाट आफ्नो दायित्वभन्दा १ अर्ब बढी अर्थात् साढे ४ अर्ब बराबरको भुक्तानी भएको छ । तर, आफ्नै कोषबाट भुक्तानी गर्दा वित्तीय संकट आउने देखिएपछि कम्पनीहरू भुक्तानी स्थगन गरेका थिए ।
नियमनकारी निकाय बीमा समितिको तथ्यांक अनुसार अहिलेसम्म एक लाख ५० हजार जनाभन्दा बढीले कोरोना बीमा वापत पाउनुपर्ने भुक्तानी पाएका छैनन् । शुरुका केही बीमितलाई भुक्तानी पाएपनि गत फागुनदेखि बीमा कम्पनीहरुले बीमितलाई भुक्तानी दिएका छैनन् ।



















