न्यादी हाइड्रोपावरले असोज १५ गतेदेखि सर्वसाधारणका आईपीओ निष्काशन गर्ने, कति कित्ता ?
काठमाडौं । न्यादी हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि २२ लाख ५० हजार कित्ता साधारण सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले असोज १५ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको हो
कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि २२ करोड ५० लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न लागेको हो । यस अनुसार कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका २२ लाख ५० हजार कित्ता साधारण सेयर निष्काशन गर्नेछ ।
निष्काशन गरिने कुल शेयरमध्ये २ प्रतिशत अर्थात ४५ हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात १ लाख १२ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । सर्वसाधारणले बाँकी २९ लाख ९२ हजार ५०० कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
उक्त सेयरमा सर्वसाधारणले असोज १५ गतेदेखि असोज १९ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा पूर्ण आवेदन नपरेमा असोज ३१ गतेसम्म आवेदन दिने मिति लम्बिनेछ। सो शेयरमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा ५० हजार कित्ता शेयर खरिदका लागि आवेदन दिनुपर्नेछ।
लगानीकर्ताहरुले धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट तथा सीडीएस एन्ड क्लियरिङद्वारा सञ्चालित मेरो सेयर अनलाइन प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।
कम्पनीले यसअघि भदौ १ गतेदेखि संस्थापक शेयरधनीहरु तथा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि बिक्री खुल्ला गरेको आईपीओ को बाँडफाँड आज असोज ६ गते गरेको थियो । लमजुङका आयोजना प्रभावित स्थानीय र संस्थापक शेयरधनीहरुले यहि भदौ १५ गतेसम्म आइपीओमा आबेदन दिएका थिए ।
कम्पनीको साधारण शेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटल लिमिटेडले गर्नेछ ।



















