युरोकप २०२० : को को भिड्दै छन् क्वार्टरफाइनलमा ?
काठमाडौ । युरोकप २०२० अन्तर्गत क्वार्टरफाइनल चरणमा प्रतिस्पर्धा गर्ने आठै टोलीको टुंगो लागेको छ । मंगलबार अबेर राति भएको प्रिक्वार्टरफाइनल चरणको अन्तिम खेलमा युक्रेन विजयी भएसँगै प्रतियोगिताको अन्तिम आठको समीकरण पनि पूरा भएको हो ।
जारी युरोकपको क्वार्टरफाइनल चरणमा प्रतिस्पर्धा गर्ने टोलीहरूमा इंग्ल्याण्ड, स्पेन, बेल्जियम, स्विजरल्यान्ड्स, इटाली, डेनमार्क, चेक परिपब्लिक र युक्रेन रहेका छन् ।
शुक्रबार राति हुने पहिलो क्वार्टरफाइनल खेलमा स्विट्जरल्याड्सले स्पेनको सामना गर्ने छ । स्विट्जरल्याड्स विश्वकप विजेता फ्रान्स र स्पेन विश्वकपको उपविजेता टोली क्रोएसियालाई पराजित गर्दै प्रतियोगिताको अन्तिम आठमा प्रवेश गरेका टोली हुन् ।
सोही दिन त्यसपछि हुने अर्को खेलमा बेल्जियम र इटाली भिड्ने छन् । बेल्जियम युरोकपको साविक विजेता पोर्चुगल र इटाली अस्ट्रियालाई पराजित गर्दै क्वार्टरफाइनलमा प्रवेश गरेका टोली हुन् ।
शनिबार राति हुने क्वार्टरफाइनल चरणको पहिलो खेलमा डेनमार्क र चेक रिपब्लिक तथा सोही दिन हुने क्वार्टरफाइनल चरणको दोस्रो खेलमा युक्रेन र इंग्ल्याण्ड भिड्ने छन् । डेनमार्कले प्रिक्वार्टरफाइनल चरणको खेलमा गेराथ बेलको टोली वेल्स र चेक रिपब्लिकले नेदरल्याण्ड्सलाई पराजित गरेका थिए ।
यस्तै, मंगलबार भएको खेलमा इंग्ल्याण्डले जर्मनीलाई पराजित गर्दै अन्तिम आठको यात्रा तय गर्दा युक्रेनले स्विडेनलाई पराजित गर्दै इंग्ल्याण्डसँगको भेट पक्का गरेको हो ।
युरोकप २०२० को क्वार्टरफाइनल चरणको खेल
शुक्रबार, १८ असार
स्विजरल्याण्ड्सविरुद्ध स्पेन ९ राति ९ः४५ बजे, सेन्ट पिटर्सबर्ग, रुस
बेल्जियमविरुद्ध इटाली ९राति १२ः४५ बजे, म्युनिख, जर्मनी
शनिबार, १९ असार
चेक रिपब्लिकविरुद्ध डेनमार्क ९ राति ९ः४५ बजे, बाकु, अजरबैजान०
इंग्ल्याण्डविरुद्ध युक्रेन ९राति १२ः४५ बजे, रोम, इटाली०
अतिरिक्त समयमा युक्रेन विजयी
अर्तेम दोभ्बीकले अतिरिक्त समयको पनि अन्तिम मिनेटमा गोल गरेपछि १० जनामा सीमित स्विडेनलाई १–० ले पराजित गर्दै युक्रेनले युरोकप २०२० को क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको हो । त्यसअघि खेलको निर्धारित ९० मिनेटको समयमा दुवै टोलीबाट १–१ गोलको बराबरी भएको थियो । त्यसपछि खेल थप ३० मिनेट लम्बिएको थियो ।
त्यसअघि निर्धारित समयको २७औं मिनेटमै ओलेक्सान्डर जिन्चेन्कोले गोल गर्दै युक्रेनलाई अग्रता दिलाएका थिए । खेलको ४३औं मिनेटमा इमिल फोर्सबर्गले प्रहार डिफ्लेक्ट हुँदै गोलमा परिणत भएपछि स्विडेनले पहिलो हाफमै खेल १–१ को बराबरीमा फर्काएको थियो ।
अतिरिक्त समयको नवौं अर्थात खेलको ९९औं मिनेटमा मार्कस डानिइल्सनले रातो कार्ड पाएपछि स्विडेन १० जनामा समेटिन पुगेको थियो । खेल टाई ब्रेकरतर्फ अघि बढिरहेको अवस्थामा अतिरिक्त समयको पनि अन्तिम मिनेट अर्थात् इन्जुरी समयमा दोभ्विकको गोलमार्फत युक्रेनले जित निश्चित गरेको थियो । दोभ्बिक खेलमा प्रयोग गरिएका १२ मध्येका एक ‘सब्स्टिच्युड’ खेलाडी हुन् । उनले नजिकको दूरीबाट हेडिङ गोल गर्दै टोलीको अघिल्लो चरणको यात्रा निश्चित गरेका थिए ।
युक्रेन समूहगत चरणबाट मुस्किलले प्रिक्वार्टरफाइनलमा आइपुगेको टोली हो । युक्रेन समूहगत चरणबाटै बाहिरिने अवस्थामा देखिएको थियो । समूह सीमा रहेको युक्रेन प्रतियोगिताको सबै समूहको तेस्रो स्थानमा रहेका टोलीमध्ये उत्कृष्ट चारभित्र रहँदै अन्तिम १६ मा प्रवेश गरेको हो । प्रिक्वार्टरफाइनल चरणको खेलमा भने युक्रेन समूह ईको विजेता टोली स्विडेनलाई स्तब्ध बनाउदै प्रतियोगिताको अघिल्लो चरणमा प्रवेश गरेको छ ।



















