सुन्दरहरैंचा नगरपालिकाको बजेट २ अर्ब १५ करोड
विराटनगर । मोरङको सुन्दरहरैंचा नगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि २ अर्ब १५ करोड १२ लाख रुपैयाँको बजेट ल्याएको छ । आठौं नगरसभामा बुधवार नगर उपप्रमुख धनमाया तामाङले बजेट प्रस्तुत गरेकी हुन् ।
उक्त बजेटमा सञ्चित कोषबाट निशर्ततर्फ ९४ करोड १५ लाख र सशर्ततर्फ अन्तरसरकारी अख्तियारीबाट ४७ करोड ४३ लाख, लागत सहभागिताबाट १ करोड र शहरी शासकीय सुधार कार्यक्रम अन्तर्गत विश्व बैंकबाट ७४ करोड ५४ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ । यस्तै अन्तरसरकारी अख्तियारी अन्तर्गत सामाजिक सुरक्षा तथा संरक्षणतर्फ ३० करोड ६७ लाख ९९ हजार ३ सय ८० रुपैयाँ प्राप्त हुने तामाङले बताइन् ।
बजेटले सुन्दरहरैंचामा कार्यरत सञ्चारकर्मीलाई ५ लाख रुपैयाँ बराबरको दुर्घटना बीमाको व्यवस्था गरेको छ । बजेटका मुख्य योजना तथा कार्यक्रमहरूमा नगरका सबै वडामा सडक बत्ती जडान, चारओटा सुविधासम्पन्न शवदाह स्थल निर्माण, कोल्ड स्टोर स्थापना, विश्वकै अग्लो गाईको प्रतिमालाई निरन्तरता, सुकुना क्याम्पसमा एमफिल सञ्चालन, कर प्रणालीलाई ई–पेमेन्टमा लगिने, सलकपुरमा नगरपालिकाको सुविधासम्पन्न भवन निर्माण, कक्षा ११ मा निःशुल्क भर्नाको व्यवस्था, ९० वर्ष माथिका नागरिकलाई मासिक १ हजार भत्ता उपलब्ध गराउने, इन्दुपुर खेलमैदानलाई अन्तरराष्ट्रिय स्तरको बनाउने, एक कृषक एक अनुदान कार्यक्रम सञ्चालन लगायत छन् ।
नगरसभामा नगर सदस्यले उठाएका विभिन्न प्रश्नको नगरप्रमुख शिवप्रसाद ढकालले जवाफ दिएका थिए । नगरसभामा वडा नम्बर ७ र वडा नम्बर १० लाई प्रशंसापत्र प्रदान गरिएको थियो । नगरपालिकाले निर्माण गरेको नीति नियमको परिधिभित्र रही प्रभावकारी रूपमा ४ वर्षसम्म योजनाहरूको सञ्चालन गरी सुशासन कायम राख्न महŒवपूर्ण भूमिका निर्वाह गरेको भन्दै वडा नम्बर १० लाई प्रशंसापत्र प्रदान गरिएको हो । त्यस्तै, सबैभन्दा बढी राजस्व संकलन गर्ने वडाको रूपमा वडा नम्बर ७ लाई सम्मान गरिएको थियो । यस्तै कोभिड संक्रमितको उपचारमा खटिने ¥यापिड रेस्पोन्स टिमका सदस्य तथा स्वास्थ्य शाखाका कर्मचारीलाई पनि कार्यक्रममा सम्मान गरिएको थियो ।



















