यूरो कप फुटबल : आज पोर्चुगल र हंगेरी तथा फ्रान्स र जर्मनी भिंड्दै

एजेन्सी। यूरोपका विभिन्न ११ शहरमा आयोजना भईरहेको १६ औं संस्करणको यूरोकप फुटबलमा आज मंगलबार दुई खेलहरु हुँदैछ । यूरो कपमा आज समूह ‘एफ’ का दुई खेलहरु सञ्चालन हुनेछन् ।
पहिलो खेलमा पोर्चुगल र हंगेरी तथा दोस्रो खेलमा फ्रान्स र जर्मनीबीच प्रतिस्पर्धा हुनेछ ।साविक विजेतासमेत रहेको पोर्चुगलले हंगेरीसँग उसैको घरेलु मैदान बुडापेस्टमा खेल्नेछ । पुस्कास एरिनामा हुने पोर्चगल र हंगेरीबीचको खेल आज राति ९:४५ बजे सुरु हुनेछ ।
पुस्कास एरिनामा मैदान उत्रँदा पोर्चुगल सुखद सुरुवात गर्ने योजनामा हुनेछ ।तर, घरेलु टिम हंगेरीलाई हराउन पोर्चुगललाई सहज भने हुने छैन । मुख्य प्रतियोगितामा दुई टिमबीच तेस्रो पटक प्रतिस्पर्धा हुन लागेको हो ।आज हुने दोस्रो खेलमा विश्वकप विजेता फ्रान्सले जर्मनीसँग खेल्नेछ । फ्रान्स र जर्मनीबीचको खेल म्युनिखस्थित एलिनाज स्टेडियममा हुनेछ ।खेल राति १२ :४५ बजे सुरु हुनेछ । घरेलु टिमविरुद्ध मैदान उत्रदा फ्रान्स जित निकाल्ने योजनामा हुनेछ ।
विश्व विजेता फ्रान्स पहिलो खेलमै बलियो टिम जर्मनीलाई हराएर उपाधि दाबेदार प्रस्तुत गर्न चाहन्छ ।
तर, जर्मनीविरुद्ध उसैको मैदानमा जीत निकाल्न फ्रान्सलाई सहज भने हुने छैन ।जर्मनी पनि फ्रान्सलाई हराएर सानदार सुरुवात गर्न चाहन्छ ।फ्रान्स र जर्मनीबीच अहिलेसम्म मुख्य प्रतियोगितामा ६ पटक प्रतिस्पर्धा भएको छ ।जसमा दुबै टोलीले २—२ खेल जितेको छ भने दुई खेल बराबरीमा सकिएको छ ।