२० प्रतिशत मूल्य छुटपछि ग्यास बिक्री बढ्दो

वेलकम खबर
जेष्ठ २३, २०७८

काठमाडौं । सरकारले बजेट मार्फत दैनिक उपभोग्य वस्तु खाद्यान्न, चामल, पिठो, नून चिनीसहित खाना पकाउने एलपी ग्यासमा समेत २० प्रतिशत छुट दिएपछि साल्ट ट्रेडिङमा ग्राहकहरुको भीड लागेको छ ।

गत बिहीबारदेखि कार्यान्वयनमा आएको छुट योजनामा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडमा दैनिक उपभोग्य वस्तु खरिद बिक्री केन्द्रहरुमा ग्राहकहरुको भीड लागेको हो ।

यस्तो भिड नून तेल, चामल खरिदमा भन्दा पनि ग्यास खरिदमा देखिएको साल्ट ट्रेडिङ कर्पोरेसनले जनाएको छ । त्यसो त गत शुक्रबार मात्र झण्डै साढे सात लाख बराबरको दैनिक उपभोग्य वस्तु खाद्यान्न, नुन तेल सहित खाना पकाउने एलपी ग्यासको विक्री भएको साल्ट ट्रेडिङका सूचना अधिकारी कुमार राजभण्डारीले जाकारी दिए ।

जसमध्ये करिब सवा लाख अर्थात् झण्डै एक सय सिलिन्डर ग्यास शुक्रबार एकै दिन विक्री भएको राजभण्डारीको भनाइ छ । बाँकी ६ लाख माथिको सरकारले तोकिदिएको पिठो, चिनी नून तेल लगायतका दैनिक उपभोग्य वस्तुहरुको खरिद विक्री भएको उनको भनाइ छ ।

सूचना अधिकारी राजभण्डारीका अनुसार हिजो शनिबार परेकाले सबै विक्री केन्द्रहरु बन्द हुँदा त्यसको लोड आज आइतबार परेको छ । आज सर्वसाधारण ग्राहकहरू विहानै देखि ग्यासको सिलिन्डर लिएर लाइनमा बसिरहेको र गत शुक्रबारको तुलनामा आज थप विक्री कारोबार बढ्न सक्ने राजभण्डारीले बताए ।

हाल साल्ट ट्रेडिङले उपत्यकाका ६ स्थान छुटका दैनिक उपभोग्य वस्तुहरुको विक्री वितरण गरिरहेको छ भने खाद्य व्यवस्था तथा व्यापार कम्पनीले ५ स्थानहरूबाट विक्री वितरण गरिरहेको छ । सरकारले कोभिड–१९ को प्रभाव सर्वसाधारणमा विशेष राहत उपलब्ध गराउने उद्देश्यले गत विहीबार देखि उपत्यकाभित्रका खाद्य कम्पनी र साल्टबाट विक्री वितरण हुने दैनिक उपभोग्य वस्तु चामल, पिठो, नून, तेल, चिनी,

कर्णालीको सिमी र खाना पकाउने ग्यासमा अधिकतम २० प्रतिशतले छुट दिएको छ । यद्यपि यो छुट निषेधाज्ञा अवधिभर मात्र प्रदान गरिने सरकारले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*