निषेधाज्ञामा चामल, दाल, पिठो, चिनी, नुन, तेल, र ग्यासमा २० प्रतिशत छुट, कहाँबाट पाइन्छ ?

वेलकम खबर
जेष्ठ २१, २०७८

काठमाडौं । सरकारले बजेटमार्फत निषेधाज्ञामा उपभोक्ताका लागि घोषणा गरेको सहुलियत प्रारम्भिक रुपमा कार्यान्वयनमा आएको छ ।

निषेधाज्ञा अवधिभर उपभोक्तलाई दुई सरकारी लगानीका कम्पनीमार्फत २० प्रतिशत छुटमा खाद्यान्न बिक्री गर्ने अर्थमन्त्रीको घोषणा खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङले कार्यन्वयन सुरु गरेका हुन् ।

बिहीबार खाद्य र साल्ट ट्रेडिङले अलग–अलग घोषणा गरेको सहुलियत प्याकेज अनुसार चामल, दाल, पिठो, चिनी, नुन, तेल, र ग्यासलाई समेटिएको छ । चामल र दाल किन्न खाद्यको बिक्री केन्द्र थापाथली पुग्नु पर्ने छ भने नुन, तेल, पिठो र ग्यास किन्न साल्ट ट्रेडिङको बिक्री केन्द्र टेकु पुग्नु पर्ने छ ।

पाँच जनाको परिवारका लागि तोकिएको एक प्याकेजमा चामल ३० किलो, कर्णालीको सिमी दाल दुई किलो, पिठो दुई किलो, चिनी र नुन दुई–दुई किलो, तेल एक लिटर र एक सिलिण्डर ग्यासलाई मानिएको छ ।

साल्ट ट्रेडिङले सरकारले घोषणा गरेको २० प्रतिशत छुटअनुसार बजारमा ९५ रुपैयाँ किलो पर्ने चिनीको भाउ ६३ रुपैयाँ २० पैसा तोकिएको छ । यस्तै खाना पकाउने ग्यास ९एसटीसी० को भाउ एक हजार एक सय २० रुपैयाँ कायम गरिएको छ । पिठो ४४ रुपैयाँ किलो, नून १६ रुपैयाँ किलो र भटमासको तेल १८८ रुपैयाँ लिटरमा बिक्री गरिने बताइएको छ ।

छुटको खाद्यान्न तथा ग्यास कर्पोरेसनको बिक्री केन्द्रबाट मात्रै खरिद गर्न सकिने र खाद्यान्न खरिद गर्न परिबारको कुनै एक सदस्यको नागरिकताको प्रतिलिपिमा परिवारको सदस्यको नाम र संख्या लेखेर बिक्री केन्द्रमा बुझाउनु पर्ने कर्पोरेसनले जनाएको छ ।

यस्तै खाद्य व्यवस्था तथा व्यापार कम्पनीबाट २० प्रतिशत छुटमा ३० किलो चामल र दुई किलो कर्णालीको सीमी उपभोक्ताले खरिद गर्न पाउने छन् ।

काठमाडौं उपत्यकामा खाद्यका बिक्री केन्द्रहरु थापाथली, रामशाहपथ, नख्खु गोदाम र भक्तपुरको सूर्यविनायकबाट खाद्यान्न खरिद गर्न सकिने खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जनाएको छ । उपत्यका बाहिर पनि निषेधाज्ञा लागू भएका जिल्लाका खाद्यका कम्पनीबाट यस्तो छुट पाइने कम्पनीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*