प्रधानमन्त्री ओलीले सम्बोधन गर्दै
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार साँझ राष्ट्रको नाममा सम्बोधन गर्ने भएका छन् । साँझ ४ बजे प्रधानमन्त्री निवास बालुवाटारबाट राष्ट्रको नाममा प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् । संबोधनको नेपाल टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्ने छ ।
दोस्रो पटक प्रतिनिधिसभा विघटनको तानाबाना थालेयता प्रधानमन्त्री केपी ओली जनता सामु अली बढी नै देखिन थालेका छन् । गत जेठ ७ गते प्रतिनिधिसभा विघटन गर्नुअघिदेखि नै उनी प्रेससँग लामै कुराकानी गर्न थालेका छन् । राजधानीबाट प्रकाशित हुने ठूला मिडियाका सम्पादक र केही अनलाइनका सम्पादकलाई उनले बोलाएका थिए ।
लगत्तै भोलिपल्ट उनले आफू निकट प्रेस चौतारीले आयोजना गरेको प्रेस भेटघाटमा समेत सामेल भए । तर्क गर्न सिपालु ओली आज पनि राष्ट्रको नाममा सन्देश दिन आउने भएका छन् । सरकारले भोलि अध्यादेशमार्फत बजेट ल्याउँदैछ । आज अर्थमन्त्रालयले आर्थिक सर्वेक्षण सार्वजनिक गर्ने कार्यक्रम रहेको छ ।
प्रधानमन्त्रीले सरकारका प्राथमिकताहरु, नीति तथा आगामी बजेटका विषयसँगै समसामयिक परिस्थितिबारे सम्बोधन गर्ने बताइएको छ । जसको विपक्षी गठबन्धनले विरोध गर्दै आएका छन् । काम चलाउ सरकारलाई पूर्ण बजेट ल्याउने अधिकार नभएको विपक्षी दलहरुको मत रहेको छ ।



















