फगुनसम्ममा वार्षिक लक्ष्यको ५९.६९ प्रतिशत राजस्व संकलन
काठमाडौं। सरकारले चालु आर्थिक वर्ष २०७७/७८ को फगुनसम्ममा वार्षिक लक्ष्यको ५९.६९ प्रतिशत राजस्व संकलन गरेको छ । २०७७ साल फागुन मसान्तसम्ममा ६ खर्ब ३ अर्ब ९२ करोड रुपैयाँ राजस्व असुली भएको हो ।
२०७७ साल चैत्र ११ गतेसम्म ६ खर्ब ४१ अर्ब राजस्व असुली भएको छ । आर्थिक वर्ष २०७७/७८ मा १० खर्ब ११ अर्ब रुपैयाँ राजस्व असुल्ने लक्ष्य राखिएको थियो । चालु आवको फागुनसम्मको लक्ष्यको तुलनामा भने ९७.८० प्रतिशत राजस्व संकलन गरेको जानकारी दिइएको हो ।
अर्थ मन्त्रालयमा आयोजित आर्थिक वर्ष २७७८/७८ को दोश्रो चौमासिक प्रगति समीक्षा एवं मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड–१९ ले पारेको प्रभाव बीचमा राजस्वको लक्ष्य पुरा हुनेमा दुबिधा नरहेको बताए । राजस्व सचिव रामशरण पुडासैनीले आर्थिक गतिविधिहरू बढेको भन्दै राजस्वको लक्ष्य नपुर्याउने छुट नभएको बताए
बैठकमा प्रस्तुत जानकारी अनुसार आर्थिक वर्ष २०७७/७८ को फागुन महिनासम्ममा चालुतर्फ ४ खर्ब ५५ अर्ब रुपैयाँ खर्च भएको छ । जुन वार्षिक बजेटको तुलनामा ४८.१८ प्रतिशत हो । यस्तै पूँजीगततर्फ ७९ अर्ब ८७ करोड रुपैयाँ खर्च भएको छ । जुन वार्षिक बजेटको तुलनामा २२.४४ प्रतिशत हो ।
अर्थमन्त्री पौडेलले दुरुपयोग हुन नहुने, प्राथामिकता निर्धारणमा चुक्न नहुने र समयमा खर्च गर्ने परिपाटी जरुरी रहेको भन्दै खर्च गर्ने प्रणालीमा रहेका बन्धनहरूलाई हटाउन आवश्यक रहेको बताए ।



















