आरजु राणा देउवाको नाममा २ अर्बको सम्पत्ति भेटियो, स्रोत नखुलेपछि सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको छानविन

वेलकम खबर
चैत्र ११, २०७७

काठमाडौं। कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी तथा पूर्व सांसद आरजु राणाको नाममा करिब दुई अर्ब बराबरको सम्पत्ति फेला परेको छ ।

विभिन्न व्यवसाय, आइएनजिओ र एनजिओमार्फत गैरकानूनी सम्पत्ति आर्जन गरेको आरोपसहित राणाविरुद्ध उजूरी परेपछि छानविनको क्रममा सम्पत्ति शुद्धिकरण विभागले करिब २ अर्ब बराबरको सम्पत्ति फेला पारेको हो ।

गैरकानूनी सम्पत्ति आर्जनको आशङ्कामा २ वर्षदेखि अनुसन्धान गरिरहेको विभागले राणाको विषयमा गरेको अनुसन्धान अन्तिम चरणमा पुगेको जनाएको छ ।

अनुसन्धानका क्रममा राणाका नाममा फेला परेको सम्पत्तिको स्रोत नखुलेको विभाग स्रोतले जनाएको छ । ‘स्कुल, शेयर बजार, घरजग्गा र हाइड्रोपावरमा भएको लगानी मध्ये धेरैको स्रोत खुल्दैन ।’ विभाग स्रोत भन्छ ।

राणाको ललितपुरस्थित खुमलटारमा नेपालकै महँगो शुल्क लाग्ने युलेन्स स्कुल तथा क्याम्पस सञ्चालनमा छ । यस्तै थापाथलीस्थित सेन्ट्रल बिजनेस पार्कमा पनि राणाको शेयर रहेको खुलेको छ ।

विभिन्न हाइड्रोपावर, बैंक तथा वित्तिय संस्थाहरूमा राणाको नाममा शेयर भेटिएको छ । राणाले गत निर्वाचनमा निर्वाचन प्रचारप्रसार प्रयोजनका लागि कैलालीमा घर किनेकी थिइन् । उक्त घर खरिद स्रोत र आम्दानी स्रोतबीच तालमेल नमिलेको पनि विभाग बताउँछ ।

आरजुका पति शेरबहादुर देउवाले प्रधानमन्त्री हुँदा सार्वजनिक गरेको आफ्नो सम्पत्ति विवरणमा भने आरजुको नाममा रहेको कुनै पनि सम्पत्ति विवरण उल्लेख छैन ।

भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ५० अनुसार सार्वजनिक पद धारण गरेको व्यक्तिले त्यस्तो पद धारण गरेको मितिले साठी दिनभित्र आफ्नो वा आफ्नो परिवारको नाममा रहेको सम्पत्तिको स्रोत वा निस्सा सहितको अद्यावधिक विवरण पेश गर्नुपर्ने व्यवस्था छ ।

तर, प्रधानमन्त्रीको हैसियतमा कांग्रेस सभापति शेरबहादुर देउवाले पेश गरेको सम्पत्ति विवरणमा आरजु राणाको नाममा कुनै पनि सम्पत्ति देखाएका छैनन् ।

भ्रष्टाचार निवारण एन २०५९ ले सम्पत्ति विवरण बुझाउनु पर्ने व्यवस्था गरेको छ । ऐनको दफा १६ मा सम्पत्ति विवरण पेश गर्दा झुट्टा विवरण दिन नहुने उल्लेख छ ।

यदि कुनै विवरण झुट्टा दिएमा वा सो सम्बन्धी झुट्टा प्रमाणपत्र पेश गरेमा निजलाई कसुरको मात्रा अनुसार छ महिनादेखि एक वर्षसम्म कैद र दश हजार रुपैयाँदेखि बीस हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।

दफा १६ को उपदफा २ मा सम्पत्ति विवरण बुझाउँदा आफ्नो नाममा वा अंशमा हक लाग्ने वा एकासगोलको परिवारको नाममा रहेको वास्तविक सम्पत्तिभन्दा बढाई वा भए रहेको सम्पत्ति लुकाई छिपाई झुट्टा विवरण दिएमा निजलाई एक महिनादेखि तीन महिनासम्म कैद र दश हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ । यसरी लुकाई छिपाई राखिएको सम्पत्ति समेत जफत हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*