भारतसँग नयाँ हवाइमार्गको पहल
काठमाडौं। सरकारले नयाँ हवाई प्रवेश मार्गको विषयमा भारतसँग पुनः छलफल गरेको छ। सरकारले भैरहवा, महेन्द्रनगर, नेपालगन्ज र जनकपुरको आकाश प्रयोग गरी हवाईमार्ग प्रवेशको लागि भारत सरकारसँग छलफल गरेको छ।
नेपालले पछिल्लो करिब सात वर्षदेखि नयाँ हवाई प्रवेश मार्गको विषयमा भारतसँग छलफल गर्दै आएको छ। परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको माघको पहिलो साता भएको भारतको भ्रमणको क्रममा नयाँ हवाई रुटका विषयमा छलफल भएको थियो।
भारतीय समकक्षीसँग भएको भेटवार्ताको क्रममा नेपालले प्राथमिकताका साथ नयाँ हवाई रुटको एजेन्डाका विषयमा छलफल गरेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ ।
प्राधिकरणका अनुसार प्राधिकरणले भारतीय निकायसँग नयाँ रुटको विषयमा लामो समयदेखि छलफल गर्दै आएको छ। तर, भारतले हालसम्म यो विषयमा निष्कर्षसहितको निर्णय भने दिन सकेको छैन। यसले गर्दा भैरहवा, महेन्द्रनगर, नेपालगन्ज र जनकपुरको आकाश प्रयोग गरी जहाज नेपाल भित्र्याउने सरकारको योजना अलपत्र पर्दै आएको छ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको क्रममा पनि यो विषयमा सरकारले छलफल गरेको थियो। तर, हालसम्म भारतले आश्वासन मात्रै दिँदै आएको छ।
नेपालले माग गरेअनुसार भारतले नयाँ हवाई प्रवेश मार्ग उपलब्ध गराएको अवस्थामा उडान खर्च र समयको बचत हुनुका साथै हवाई ट्राफिक जामको समस्या पनि समाधान हुने प्राधिकरणले जनाएकोे छ ।
हाल ९० प्रतिशत अन्तर्राष्ट्रिय उडान सिमरा हुँदै काठमाडौं भित्रिने गरेका छन् भने चीनबाट आउने विमान सगरमाथा आसपास क्षेत्र र भुटानबाट आउने विमान मेची हुँदै नेपाल प्रवेश गर्छन्। नेपाल बाहिरिने हवाई रुट भने सिमरा, विराटनगर, जनकपुर, महेन्द्रनगर र भैरहवाको आकाश मार्ग रहेको छ।
भैरहवा रुटबाट जहाजले प्रवेश विन्दु पाउने हो भने भारतको दिल्ली तथा पश्चिम क्षेत्रबाट आउने जहाजलाई सिमराको तुलनामा सहज र छोटो दूरी पर्नेछ। साथै नयाँ हवाई प्रवेश मार्ग उपलब्ध हुँदा दीर्घकालीन रूपमा निजगढ विमानस्थल र पोखरा विमानस्थलसमेत फाइदा हुने प्राधिकरणले जनाएको छ ।


















