ओलीले कुनै हालतमा निर्वाचन गराउदैन : नेपाल

वेलकम खबर
माघ १८, २०७७

काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै हालतमा पनि निर्वाचन नगराउने बताएका छन् ।

प्रतिनिधिसभा विघटनको विरोधमा धनगढीको खुलामञ्चमा शनिबार आयोजित बृहत सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले भने, ‘केपी ओलीले चुनाव गराउलान्, लोकतन्त्र बलियो बनाउलान् भनेर कसैलाई भ्रम परेको छ भने त्यसबाट मुक्त भए हुन्छ । उनी चुनाव गराउन चाहँदैनन् ।’ लोकतन्त्र र गणतन्त्र समाप्त पार्न ओलीले असंवैधानिक ढंगले प्रतिनिधिसभा विघटन गरेको आरोप उनले लगाए ।

ओलीले देशलाई अस्तव्यस्त बनाउन चाहेको आरोप लगाउँदै अध्यक्ष नेपालले भने, ‘देश भाँडमा जाओस् केपीलाई मतलब छैन, लोकतन्त्र–गणतन्त्र समाप्त होस् केपीलाई कुनै चासो छैन ।’ उनले लोकतन्त्रका लागि गरिएका आन्दोलनमा ओली कहिल्यै नदेखिएको बताए । उनले ओलीमाथि कम्युनिस्ट पार्टी र कम्युनिस्ट आन्दोलनलाई निमिट्यान्न पार्न लागेको आरोप पनि लगाए ।

‘अहिले ओलीले एमाले–एमाले एक हौं भनेर प्रचार गरिरहेका छन् । यो ओलीको नक्कली प्रचार हो,’ उनले भने, ‘ओलीलाई कम्युनिस्ट पार्टीसँग कुनै मतलब छैन ।’ मन्तव्यको अधिकांश समय प्रधानमन्त्री ओलीको आलोचना गरेका अध्यक्ष नेपालले एक प्रसंगमा तत्कालीन एमालेलाई आफूले १५ वर्ष र १२ वर्ष झलनाथ खनालले नेतृत्व गरेर हाँकेको बताए ।

उनले ओलीले सधैं पार्टीलाई समस्यामा पारेको दोषारोपण गरे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*