काठमाडौंमा बर्ड फ्लु : तारकेश्वरमा २३ सय पन्छी नष्ट गरियो

वेलकम खबर
माघ १७, २०७७

काठमाडौं । काठमाडौंमा पालिएका पन्छीमा बर्ड फ्लुको संक्रमण भेटिएको छ । तारकेश्वर नगरपालिकाको वडा नं. ७ साङ्लेखोला, फुटुङका स्थानीय कृषकहरूले पालेका टर्की र हाँसमा बर्ड फ्लु भेटिएको हो ।त्यहाँ टर्की र कुखुरा मरेपछि ल्याइएको नमूना केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा रियल टाइम पीसीआर बिधिबाट परीक्षण गर्दा मिति शुक्रबार बर्ड फ्लु रोग पुष्टि भएको पशु सेवा विभागले जनाएको छ ।

रोग पुष्टि भएको क्षेत्रबाट रोग अन्यत्र फैलन नदिन संघ, प्रदेश तथा स्थानीय तहका पशु सेवासँग सम्बन्धित निकायहरूलाई परिचालन गरी रोग देखिएको क्षेत्रमा रहेका करिब साढे २३ सय वटा घरपालुवा पन्छी तया रोग सार्न सक्ने अन्य वस्तु समेत नष्ट गरिसकिएको विभागले जनाएको छ ।

यस क्रममा १ हजार ८६५ हाँस, ६२२ बट्टाई, ३२ कुखुरा, २५ टर्की, ५४२ अण्डा र ७५ केजी दाना नष्ट गरिएको छ । रोग देखा परेको क्षेत्रलाई पूर्ण निःसंक्रमण समेत गरिएको विभागले जनाएको छ ।

विभागले पन्छी तथा पन्छीजन्य उत्पादनको ओसारपसार गर्दा अनिवार्य रुपमा स्वास्थ्य परीक्षण गरी भेटेरिनरी प्रमाणपत्र लिएर मात्र गराउन आग्रह गरेको छ । फार्म परिसरमा जैविक सुरक्षाका विधिहरू अवलम्वन गर्न, फार्म परिसरमा नियमित रूपमा निःसंक्रमण गर्न तथा व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिन पनि विभागले कृषकलाई सूचित गरेको छ।

सरकारले कुनैपनि पन्छी फार्म वा अन्य पन्छीपालन वा बिक्रीस्थलमा अस्वाभाविक रूपमा पन्छी बिरामी परेमा वा मरेमा तत्काल नजिकको पशु सेवाका निकायमा सूचना गर्न पनि आग्रह गरेको छ ।

विगत एक महिनाअघि भारतीय सीमा क्षेत्रका विभिन्न राज्यमा बर्ड फ्लु रोग देखा परेको थियो । हाल भारतबाट रोग सार्न सक्ने वस्तुको आयातमा पूण प्रतिवन्ध लगाइएको छ भने मुलुकभित्र रोगको सघन निगरानी गरिएको अवस्थामा सरकारको दावी छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*