नेकपा दुवै पक्षको दाबी निर्वाचन आयोगद्धारा अस्वीका

काठमाडौँ। नेकपाका दुई पक्षले अलग–अलग ढंगले पार्टीमा गरेको फेरबदललाई निर्वाचन आयोगले पुनः अस्वीकार गर्ने भएको छ । दलको विधानलाई आधार मानेर सोधिएका सवालमा दुवै पक्षले दिएको जवाफप्रति आयोग सन्तुष्ट हुन नसकेको हो ।
आयोग स्रोतका अनुसार प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली तथा अर्का अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपाल पक्षले लिएका निर्णय दलको विधानसम्मत छैनन् ।
आयोगले दुवै पक्षको निर्णयलाई अवैधानिक भन्दै त्यसलाई अस्वीकार गर्नुको अर्थ औपचारिक रूपमा नेकपा एउटै रहेको मानिनेछ । आयोगको रेकर्डमा नेकपाका दुई अध्यक्ष ओली र दाहाल नै हुनेछन् । वरिष्ठ नेता नेपाल पार्टी अध्यक्ष बनेको विषयले वैधानिकता पाउने छैन ।
प्रधानमन्त्री ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेर मध्यावधि निर्वाचनमा जाने निर्णय लिएसँगै सत्तारूढ दल नेकपाको विवाद उत्कर्षमा पुगेर व्यवहारतः पार्टी विभाजित भएको हो । त्यसयता पार्टीका दुई अध्यक्ष ओली तथा दाहालले अलग–अलग समूह बनाउनुका साथै एकले अर्कालाई कारबाही गर्नेलगायतका निर्णय गरेका छन् ।
प्रतिनिधिसभा विघटन गरेकामा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीलाई दाहाल पक्षले अनुशासनको कारबाही गर्दै अध्यक्षबाट हटाएको छ । उनको स्थानमा वरिष्ठ नेता माधवकुमार नेपाललाई अध्यक्ष बनाइएको छ । दाहाल–नेपाल पक्षले नेकपाका ४ सय ४१ केन्द्रीय सदस्यमध्ये दुई तिहाइको साथ आफूहरूसँग रहेको दाबी गर्दै आएको छ । त्यसको जानकारी उनीहरूले आयोगलाई पनि दिएका छन् ।
ओली पक्षले पार्टीको विधान संशोधन गरेर केन्द्रीय कमिटी विस्तार गरेको, अर्का अध्यक्ष दाहालको कार्यकारी अधिकार खोसेको, पार्टीको औपचारिक पत्राचारमा एउटै अध्यक्षको हस्ताक्षर हुने जस्ता निर्णय गरेको छ । त्यस्तै पार्टी प्रवक्ता परिवर्तन गरेको छ । ४ सय ४१ सदस्यीय केन्द्रीय कमिटीलाई विधान संशोधन गरेर ओलीले १ हजार ५ सय १ सदस्यीय पुर्याएका छन् ।
सुरुमा १ हजार १ सय ९९ र पछि त्यसलाई थप बढाइएको जानकारी आयोगलाई गराइएको छ । केन्द्रीय कमिटीका ९ सय हाराहारी सदस्यको नामनामेसीसमेत आयोगलाई बुझाइसकेको छ । दाहाल–नेपाल पक्षले पनि पुस ७ र ९ गते नै केन्द्रीय कमिटी बैठक बसेर ओलीलाई अनुशासनको कारबाही गरेर हटाएको तथा उनको स्थानमा नेपाललाई अध्यक्ष बनाउने निर्णय गरेको जानकारी आयोगलाई दिएको छ ।
नेकपाको एउटै लेटरप्याड र छाप प्रयोग गरेर दुवै पक्षले पार्टीमा अलग–अलग ढंगले फेरबदल गरिएका पत्रहरू आयोगमा पठाएका छन् । दुवैले राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ अनुसार दलमा गरिएको हेरफेरलाई दल दर्ता किताबमा अद्यावधिक गरिदिन आयोगलाई आग्रह गरेका छन् । आयोगले दुवै पक्षको त्यस्तो आग्रहलाई पुस २३ गते अस्वीकार गर्दै त्यसमा थप स्पष्टता खोजेको थियो ।
पार्टीमा गरिएका फेरबदल विधानसम्मत सुधार गरिए मात्रै दल दर्ता किताबमा अद्यावधिक गर्न सकिने जानकारी आयोगले दुवै पक्षलाई पत्रमार्फत दिएको थियो । सात दिनको समय दिएर आयोगले दुवै पक्षबाट जवाफ मागेको थियो ।
पुस २९ मा दुवै पक्षले आयोगलाई पठाएको जवाफमा आ–आफ्नो समूहले बोलाएको केन्द्रीय कमिटीको बैठक तथा त्यसले गरेका निर्णय वैधानिक रहेको दाबी गरेका छन् । आफ्नो पक्षको निर्णयलाई आधिकारिक मान्न र त्यसैअनुसारको विवरण दल दर्ता किताबमा अद्यावधिक गरिदिन उनीहरूले आयोगलाई आग्रह गरेका छन् ।
ओली वा दाहाल–नेपाल पक्षले गरेका पछिल्ला दाबी पनि विधानसम्मत नदेखिएकाले उनीहरूले गरेको मागअनुसार दलका विधान वा पदाधिकारीको फेरबदल स्वीकार हुने अवस्था नरहेको निष्कर्षमा आयोग पुगेको छ ।
आयोगको कानुन तथा राजनीतिक दल महाशाखाका कानुन अधिकृतहरूले दुवै पक्षले पठाएका कागजातको आवश्यक अध्ययन र जाँचबुझ गरिसकेका छन् । स्रोतका अनुसार उनीहरूले दुवै पक्षले गरेको मागअनुसार फेरबदल दल दर्ता किताबमा गर्न नसकिने व्यहोराको सुझाव आयोगका पदाधिकारीलाई दिइसकेका छन् ।
अनौपचारिक छलफलमा आयोगका प्रमुख आयुक्त र अन्य दुई आयुक्त पनि त्यही सुझावअनुसारको निर्णय लिन सहमत देखिएको आयोग स्रोतले बताएको छ । त्यस अवस्थामा नेकपा बाहिर फुटेको देखिए पनि औपचारिक रूपमा आयोगको दल दर्ता किताबमा भने पार्टी संरचना वा विधानमा कुनै फेरबदल भएको मानिने छैन ।
तत्कालीन दुई दल एमाले र माओवादी केन्द्र एकीकरण भएर २०७५ जेठ ३ गते नेकपा बनेको थियो । एकीकरणका बेला दलले दिएको विधान, ४ सय ४१ सदस्यीय केन्द्रीय कार्यसमिति, अध्यक्षमा ओली र दाहाल, महासचिवमा विष्णु पौडेललगायतका पार्टीको संरचना र पदाधिकारीमा कुनै पनि फेरबदल नमानिने आयोग स्रोतले उल्लेख गरेको छ ।
े