रोजगारीका लागि अब नेपाली इजरायल जान पाउने

वेलकम खबर
माघ ९, २०७७

काठमाडौैं। करिब पाँच वर्षदेखि रोकिएको इजरायल रोजगारी फेरि खुलेको छ। रोजगारी खुलाउन नेपाल र इजरायलबीच बिहीबार सम्झौता भएको छ।

वैदेशिक रोजगार विभागका अनुसार पहिलो चरणमा पाँच सय जना नेपाली इजरायल जान पाउनेछन्। विभागले यही जनवरीदेखि प्रक्रिया सुरु गर्नेछ। कामदार प्रतिस्पर्धाका आधारमा छनोट हुनेछन्। तीन महिनाभित्रै कामदार इजरायल पठाउनेगरी विभागले गृहकार्य सुरु गरेको बताइएको छ । सरकार टु सरकार (जीटुजी) मार्फत कामदार इजरायल जान पाउनेछन्।

इजरायलमा जाने नेपाली २५ देखि ४५ वर्ष उमेर समूहको हुनुपर्छ। दसजोड दुई पास गरेर तीन महिनाको केयर गिभर तालिम लिएकाले अवसर पाउनेछन्। दसजोड दुई पास गरी १५ महिने अनमी पढेकाले पनि इजरायल जान पाउनेछन्। इजरायल जान हिब्रु र अंग्रेजी भाषा जान्ने हुनुपर्छ।

इजरायलमा मासिक एक हजार पाँच सय डलर (डेढ लाख नेपाली) पारिश्रमिक पाइन्छ। ३ सय २० डलर फन्डमा जम्मा हुन्छ। कामदार फर्किंदा पाउने प्रावधान छ। सुरुमा १ हजार २ सय ८० डलर पाउँछन्।

इजरायल वैदेशिक रोजगारीका गन्तव्य मुलुकमध्ये आकर्षक मानिन्छ। पुनः सम्झौता भएसँगै इजरायल खुलेको हो। सन् २०१५ सम्झौता भएपनि कामदार इजरायल जान पाएका थिएनन्। त्यतिबेला बिजनेज टु बिजनेस(बीटुबी) मोडेलबाट कामदार पठाइने भनिए पनि मुस्किलले एक सय जना पनि जान पाएका थिएनन्।

इजरायलले केयर गिभर, नर्सिङ क्षेत्र, अस्पताल, नर्सिङ होम, दिवा सेवा केन्द्रलगायत नेपाली श्रमिक लैजानेछ। बिहीबार वैदेशिक रोजगार विभागका महानिर्देशक दाहाल र नेपालका लागि इजरायली राजदूत हनान गोडरले इजरायलमा नेपाली कामदार आपूर्ति गर्नेसम्बन्धी सम्झौतामा हस्ताक्षर गरे।

सरकारले सन् २०१५ मा इजरायलमा केयर गिभरका लागि एक सय १९ जना छानेको थियो। इजरायलले माग नपठाएपछि छानिएका ४१ जना इजरायल जान पाएका थिएनन्। इजरायलमा ठूलो संख्यामा केयर गिभरको माग रहे पनि त्यतिबेला इजरायली सरकारले माग संकलनका लागि नियुक्त गरेका एजेन्टले नेपालका म्यानपावरको प्रलोभनमा परेर माग पठाउन नसकेको बताइन्छ। इजरायल सरकारले त्यहाँ चारजना एजेन्टलाई कामदारको माग संकलन गर्ने जिम्मा दिएको थियो।

इजरायल जान (हवाई भाडा, स्वास्थ्य परीक्षणसहित) एक लाख रुपैयाँभन्दा बढी खर्च नहुने भएकाले इजरायल रोजगारप्रति कामदार आकर्षित छन्। इजरायलमा केयर गिभरले वृद्धवृद्धा र बालबालिकाको रेखदेख गर्नुपर्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*