उपत्यकामा वायु प्रदूषण उच्च, केही दिन घरभित्रै बस्न आग्रह
काठमाडौं। उपत्यकामा वायु प्रदूषण खतराको तहमा पुगेको भन्दै विज्ञहरुले सचेत गराएका छन्। खराब मौसम, आगोबाल्दा निस्कने धुँवा, डढेलो, सवारी प्रदुषण, उत्तरी भारतबाट भित्रिएको औद्योगिक प्रदूषण जस्ता कारणले काठमाडौं उपत्यकामा वायुको गुणस्तर खतराको तहमा पुगेको भन्दै विज्ञहरुले सचेत गराएका हुन्।
वायु प्रदूषण खतराको तहमा पुगेपछि वातावरण विभागले पनि नागरिकलाई सचेत गराएको छ। विभागले मंगलबार विज्ञप्ति जारी गरेर प्रदूषण कायम रहँदासम्म बालबालिका, वृद्धवृद्धा, श्वासप्रश्वास र मुटुको समस्या भएका बिरामीलाई सकेसम्म घर बाहिर ननिस्कन आग्रह गरेको छ।
त्स्तै स्वास्थ्य मन्त्रालयले पनि काठमाडौं उपत्यकाको वायु प्रदूषण बढेको भन्दै मर्निङवाकमा नजान अनुरोध गरेको छ। सोमबारदेखि घाम नलाग्दा काठमाडौँ उपत्यकामा वायु प्रदूषणको स्तर अत्याधिक बढेको हो। बिहान र बेलुकाको समयमा प्रदूषण अत्याधिक बढेको पाइएकाले घरबाहिर निस्कँदा विशेष सावधानी अपनाउन विभागले सुझाव दिएको छ।
काठमाडौं उपत्यका बाहेक तराई क्षेत्रका सहरहरूमा पनि वायु प्रदूषणको मात्रा उच्च देखिएको छ। नेपालगञ्ज, विराटनगरसहितका सहरमा वायु प्रदूषण उच्च रहेको विभागले जनाएको छ। फोहोर र आगो बाल्दा वायु प्रदूषण बढ्ने भएकोले यस्तो कार्य नगर्न पनि विभागले नागरिकलाई सचते गराएको छ।
‘वायु प्रदूषण मौसममा पनि भर पर्ने भएकाले मौसम यस्तै भइरहेमा केही समयसम्म प्रदूषण यस्तै रहन अथवा अझै खराबसमेत हुने सम्भावना रहेको हुनाले विशेष सावधानी अपनाउन अनुरोध गरिन्छ,’ विभागको विज्ञप्तिमा भनिएको छ।


















