स्थायी कमिटी बैठकअघि ओली-प्रचण्ड वान टु वान वार्तामा
काठमाडौं। नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डबीच बालुवाटारमा वान टु वान वार्ता भइरहेको छ।
नेकपाभित्र विवादले उग्र रुप लिँदै पानी बाराबारको अवस्था रहेकै बेला दुई अध्यक्षबीच वान टु वान वार्ता भइरहेको हो। आजै नेकपाको स्थायी समिति बैठक प्रधानमन्त्री समेत रहेका ओलीको सरकारी निवास बालुवाटारमा राखिएको अवस्थामा बैठकअघि दुई अध्यक्षबीच वार्ता भएको हो।
संवैधानिक आयोगहरुमा नियुक्तिका लागि विवाद भइरहेको बेला ओलीले अकास्मात निर्णय गर्न सजिलो हुने गरी अध्यादेश ल्याएपछि नेकपाभित्र विवाद थप उग्र बनेको छ।
आजको स्थायी समिति बैठकमा ओली इतर समूहले कडारुपमा प्रस्तुत हुने यसअघि नै निर्णय गरिसकेको छ। सरकारले ल्याएको अध्यादेश र पार्टीभित्रको विवादका सन्दर्भमा केन्द्रीत रहेर छलफल भइरहेको स्रोतको भनाइ छ।
नेकपाभित्रको लामो समयको विवाद नसुल्झिकन थप उग्र बन्दै गएपछि कतिपयले पार्टी फुटको डिलमा पुगेको टिप्पणी गर्न थागेका छन्।



















