नौ महिना पछि आजबाट खुल्यो पशुपतिनाथ
काठमाडौं। कोरोना भाइरस संक्रमणको कारण नौ महिनाअघि बन्द गरिएको पशुपतिनाथ मन्दिर आजबाट भक्तजनका लागि खुल्ला गरिएको छ।
आराध्यदेव पशुपतिनाथको दर्शन गर्न श्रद्धालुहरु आज बिहानै पशुपतिनाथ मन्दिर पुगेका थिए। पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकालका अनुसार हाल भक्तजनहरुलाई पश्चिमतर्फको सानो ढोकाबाट प्रवेश गराउने र पश्चिमतर्फकै ठूलो ढोकाबाट बाहिरिने व्यवस्था मिलाइएको छ।
भक्तजनहरुलाई मास्क अनिवार्य गरिएको छ। ढोकाबाट प्रवेश गर्नुअघि हात स्यानिटाइज्ड गर्नुपर्छ। जुत्ताचप्पल राख्ने ठाउँमा पनि हात धुने र स्यानिटाइज्ड गर्ने व्यवस्था मिलाइएको छ। त्यहाँबाट अगाडि बढेपछि तापक्रम नाप्ने कोठामा जानुपर्छ । त्यहाँ जडान गरिएको अटोमेटिक मेसिनले भक्तजनको तापक्रम रेकर्ड गर्छ।
यदि बढी तापक्रम देखाएमा भक्तजनलाई त्यहीँबाट फर्काइन्छ। सामान्य तापक्रम भएकाहरुलाई भौतिक दुरी कायम गरी लामबद्ध भएर पशुपतिनाथ मन्दिरमा प्रवेश गर्न दिइन्छ। भक्तजनलाई दुई मिटरको दूरीमा लाममा राखी दर्शन गर्ने व्यवस्था मिलाइएको छ। आज पहिलो दिन भक्तजनहरुको खासै उपस्थिति नरहेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ।
पशुपतिनाथ मन्दिर भक्तजनका लागि खुला गरिए पनि अझै केही समय भक्तजनले रसिद काटेर गरिने विशेष पूजा गर्न पाउने छैनन्। यसैगरी मूल मन्दिर परिसरमा दैनिक हुने गरेको भजनलगायत गतिविधि पनि तत्काल हुने छैन। पशुपतिनाथ मन्दिर भक्तजनका लागि खुल्ला गर्नुअघि अघिल्लो दिन क्षमा पूजा गरिएको थियो। राष्ट्रपति विद्यादेवी भण्डारीले क्षमासहित विशेष पूजा गरेकी थिइन्।
कोरोना महामारीबाट मुक्ति, देश एवं विश्व शान्तिको संकल्पसहित मूल मन्दिर, परिसरका देवीदेवताको पनि पूजा आराधना गरिएको थियो।


















