जबजसँग ओलीले प्रधानमन्त्री पद साटेका हुन् : माधव नेपाल

वेलकम खबर
मंसिर २९, २०७७

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधव कुमार नेपालले जनताको बहुदलीय जनवाद (जबज)सँग केपी शर्मा ओलीले प्रधानमन्त्री पद साटेको आरोप लगाएका छन्। एक कार्यक्रमको अन्तरबार्तामा कुराकानी गर्दै नेता नेपालले अर्का अध्यक्ष प्रचण्डसँग प्रधानमन्त्री पद पाउन ओलीले जबज साटेको आरोप लगाएका हुन्।

उक्त अन्तरबार्तामा नेता नेपालले भने, ‘प्रचण्डजीसँग प्रधानमन्त्री पद पाउनका लागि जनताको बहुदलीय जनवाद छोड्ने व्यक्ति इतिहासमा दर्ज गर्नु पर्ने हो भने केपी शर्मा ओली जी नै हो।’ पूर्वप्रधानमन्त्री नेपालले त्यसको प्रमाण आफूसँग भएको पनि बताए।

पार्टीमा ओलीले नेतृत्व हस्तान्तरणको विषय उठाए पनि त्यसलाई विश्वास गर्ने आधार नभएको नेता नेपालले बताए। अहिले ओलीकै कारण पार्टीमा समस्या आएको पनि नेपालको भनाइ छ।

ओली र उनी निकटका व्यक्तिहरुमा मै सर्बेसर्बा भन्ने अहंकार र अरुलाई अपमान गर्ने प्रवृत्ति रहेको आरोप लगाउँदै नेता नेपालले भने, ‘झूठका पुलिन्दा गर्न सिपालु, सबै कूकर्म गर्न सिपालु, उहाँ र उहाँसँग लागेका मान्छे संस्कारहीन मानिसहरु छन्। असंस्कारी, कूसंस्कारी भन्न सकिन्। त्यसमा धैर्यता छैन, संयम् छैन, आत्मालोचना दृष्टिकोण छैन, जनताका गुनासा, आलोचना असन्तुष्टि सुन्ने धैर्यता छैन। मै सबैथोक जान्ने सर्बेसर्बा भन्ने अहंकार छ। अरुलाई अपमान गर्ने प्रवृत्ति छ। अरुलाई मानमर्दन गर्दा रमाउने प्रवृत्ति छ।’

ओलीले आफू जनताबाट प्रधानमन्त्री र अध्यक्ष निर्वाचित भएको भनेर असत्य कुरा गरिरहेको पनि नेता नेपालले बताए। आफूले चाहेको व्यक्ति नियुक्त गर्न नपाउँदा सरकारको काममा असर परेको भन्ने ओलीको भनाइबारे राखिएको जिज्ञासामा नेता नेपालले ओलीले छाडा ट्वीट गर्ने व्यक्तिहरु नियुक्त गरेको आरोप लगाए। ‘छाडा ट्वीट लेख्ने व्यक्तिहरुको नियुक्ति भएको छ। यी एकएक व्यक्तिहरुको सबैको कुकर्म गरेकाहरुको मसँग प्रमाण छ।’

ओलीले मुख्यमन्त्री र मन्त्री नियुक्ति गर्दा पनि विभेद गरिएको आरोप पनि नेता नेपालले लगाए। ‘युवराज ज्ञवाली अगाडि हो कि शंकर पोखरेल अगाडि हुन्छ रु अष्टलक्ष्मी शाक्य अगाडि कि डोरमणि अगाडि? भीम आचार्य अगाडि कि शेरधन राई अगाडि हुन्छ?’ नेपालले भने, ‘उहाँहरु किन फिट हुनुभएन? उहाँहरुको ब्लड टेस्ट गरिएछ, खकार टेष्ट भएछ, डिएनए टेस्ट गरियो। सबै माधव नेपालसँग मिल्यो, केपी ओलीसँग मिलेन।’

नेता नेपालले ओलीलाई पार्टीका अधिकांश मान्छेहरुको विश्वास जित्न र सरकार चलाउन सुझावसमेत दिए। साथै नेता नेपालले ओलीले नै निर्वाचन आयोगमा नेकपा एमाले नामको पार्टी दर्ता गर्न लगाएको आरोपसमेत लगाए। तर त्यो धम्कीको लागि मात्रै भएको बताउँदै नेपालले ओलीलाई पार्टीको माया भए नेकपा छोडेर एमालेमा नजाने बताए।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*