देशभरका शिवालयमा छरियो शतबीज

वेलकम खबर
मंसिर २८, २०७७

काठमाडौं। मार्गशीर्षकृष्ण चतुर्दशीका दिन आज दिवङ्गत पितृको सद्गतिको कामना गर्दै पशुपति क्षेत्रलगायत देशभरका शिवालयमा शतबीज छरिएको छ।

त्रयोदशीको रातभर शनिवार भक्तजनले शिवालय एवं घर–घरमा समेत दिवङ्गत पितृको नाममा महादीपदान गरेका थिए। पशुपति क्षेत्रमा भने यस वर्ष महादीपदान गर्न निषेध गरिएको थियो। त्रयोदशीदेखि नै लाखौँ भक्तजन आउने पशुपति क्षेत्र कोरोना महामारीका कारण यस वर्ष शनिबार राति भने सुनसान प्राय देखिएको थियो।

त्रयोदशीको राति बत्ती बाल्न निषेध गरिएको पशुपति क्षेत्रका मृगस्थली, गुह्येश्वरी र गौरीघाट क्षेत्रमा आज शतबीज छर्न भने खुला गरिएको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले राससलाई जानकारी दिए। यस वर्ष पशुपति क्षेत्रमा महादीपदान नगर्न अनुरोध गरिएको उनले सुनाए।

पशुपतिमा दीपदान गर्न निषेध गरिएको राजधानीका अन्य शिवालयमा भने भक्तजन बत्ती बाल्न पुगेका थिए। कतिले घरमै पाञ्चायन पूजा गरिएको स्थानमा रातभर बत्ती बाली बिहान पशुपति क्षेत्र वा अन्य शिवालयमा गई शत बीज छरेका छन्।

आज शतबीज छर्न पनि पशुपति मन्दिरको मुख्य क्षेत्र कैलाश डाँडामा निषेध गरिएको पनि कोषले जनाएको छ। आफ्नो परिवारभित्रका दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै १०८ शिवलिङ्ग, कैलाश, सूर्यघाट, गौरीघाट, आर्यघाट, गुह्येश्वरी, पशुपति, मृगस्थली, विश्वरूप र किराँतेश्वर आदि ठाउँमा शतबीज छर्ने गरिन्छ। यस वर्ष धेरै स्थानमा शतबीज छर्न पनि निषेध गरिएकाले विगत वर्षमा भन्दा न्यून भक्तजन बिहान पशुपति क्षेत्र पुगेका थिए।

शतबीज भनिए पनि हाल सप्तबीज ९धान, जौ, तिल, गहुँ, चना, मकै, कागुनो० छर्दै मृगस्थलीमा रहेका बहिरा गणेश नजिक आइपुगेपछि उक्त गणेशको शिलालाई हल्लाउँदै ठूलो स्वरले दिवङ्गत आत्माले पाउने गरी सन्देश पुर्‍याउन अनुरोध गरिन्छ। नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम हेमाद्री नामक धर्मग्रन्थमा उल्लेख गरिएअनुसार धानका सय गेडा चढाउनुपर्ने अरु अन्न होइन भन्छन्।

“भगवान् शिव मृगरूप लिएर घुम्नुभएको पुण्य क्षेत्रमा आजका दिन एक गेडा बीज छर्दा एक गेडा सुन दान गरे बराबरको पुण्य मिल्ने र दिवङ्गत आत्माले पनि मुक्ति पाउने चर्चा विभिन्न धर्मग्रन्थमा गरिएको छ”, उनले भने।

वाग्मती किनारको मृगस्थलीमा भगवान् शिव मृगरूप धारण गरेर विहार गर्नुभएको थाहा पाई त्यस शिवरूपी मृगलाई चिन्न पार्वतीले विभिन्न किसिमको बीज छरेको र ती बीज उम्री हरिया भएपछि मृगहरू आउँदा सो बथानमा भगवान् शिवलाई पार्वतीले चिन्न सकेको किंवदन्ती छ।

यसैगरी बालाचतुर्दशीसँग जोडिएको अर्को एउटा कथा पनि छ । सो कथाअनुसार पहिले पशुपतिको मुर्दाघाटमा बस्ने ‘बालानन्द’ नामका एक मानिस खाजा खान लाग्दा त्यसै बखत पोलिएको शवको टाउको फुट्न गई उछिट्टिएको गिदी उनको च्युरामा परेको थियो । सो गिदीसँगै च्युरा खाँदा झन् मीठो भएकाले त्यसै बेलादेखि उनी मुर्दाको गिदी खान पल्किए।

त्यसपछि मानिसको गिदी खाने तथा लामालामा दाह्री, जुँगा र कपालले गर्दा मानिस डराई उसलाई बालासुर राक्षस भन्न थालेको र त्यसै बखत उसको राम्रो परिचय पाएका एक जना थकाली बुढाको सल्लाहअनुसार स्थानीय बासिन्दाले बालासुरको मित वृषसिंहमार्फत उसलाई मार्न लगाएको कथा पनि प्रचलित छ।

आफ्ना मितको हत्याबाट छट्पटाएका वृषसिंहलाई एक रात सपनामा भगवान् शिवजीले दर्शन दिइ शतबीज छर्ने आज्ञा दिएका थिए। मार्गकृष्ण चतुर्दशीका दिन श्लेषमान्तक वनको वरिपरि शतबीज छर्दा बालासुर वैतरणी तरेर गएकाले त्यसै बेलादेखि यस दिनलाई बालाचतुर्दशी भनी दिवङ्गत आत्माको शान्तिका लागि शतबीज छर्ने गरिएको हो।

माता पिता दिवङ्गत भई एक वर्ष पूरा नभएकाले भने शास्त्रीयरुपमा दीपदान एवं शतबीज रोपण गर्नुनहुने समितिका अध्यक्ष गौतमले सुनाए। ‘धर्मसिन्धु’ नामक ग्रन्थमा बरखी बारेकाले शिवको पूजाआजा त परको कुरा नामसमेत लिनु नहुने उल्लेख गरिएको छ।

यस अवसरमा पशुपति क्षेत्र पुग्ने भक्तजनले वासुकी र गुह्येश्वरीको पूजा गर्नुपर्ने शास्त्रीय वचन रहेको छ। चतुर्दशीको बिहान शतबीज छरी हवन गरेपछि बाला चतुर्दशी पर्वको विधि पूरा हुने शास्त्रीय परम्परा छ। रासस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*