ओलीको सन्देश लिएर नेम्वाङ खुमलटारमा
काठमाडौं। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)लाई भेट्न स्थायी कमिटी सदस्य सुवास नेम्वाङ खुमलटार पुगेका छन्। संसदीय दलका उपनेता समेत रहेका नेम्वाङ आइतबार बिहानै खुमलटार पुगेका हुन्।
भेटवार्तापछि नेम्वाङले प्रचण्डसँग एकता पार्टी जोगाउनेबारे कुराकानी भएको बताए। नेम्वाङले पार्टीको विवादबारे अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको धारणा पनि सुनाएका थिए।
आज दिउँसो एक बजे स्थायी कमिटी बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाइएको छ। बैठक बस्नु अगाडि नेम्वाङले प्रचण्डलाई भेटेका हुन्। हिजो मात्रै प्रधानमन्त्री निकट नेता शंकर पोखरेलले प्रचण्डलाई भेटेका थिए। प्रचण्डलाई भेट्न पोखरेल खुमलटार पुगेका थिए।
स्थायी कमिटी सदस्य एवम् लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेल शुक्रबार काठमाडौं आएपछि लगातार भेटवार्तामा छन्। विशेषगरी पोखरेलले प्रधानमन्त्री ओलीको सन्देश लिएर नेताहरूलाई भेटिरहेका छन्।
गएको २१ मङ्सिरमा शुरु भएको स्थायी कमिटी बैठक एक साता स्थगित गरेर आज बस्दैछ। तर, आजको बैठकमा केन्द्रीय सदस्य कमानसिं लामाको निधनप्रति शोक प्रस्ताव पारित गरेर स्थगित गर्ने तयारी भएको छ।



















