काठमाडौं । चैतयता बन्द रहेको माउन्टेन फ्लाइट अब सञ्चालन हुने भएको छ । निजी क्षेत्रका दुई ठूला कम्पनी बुद्ध एयर र यति एयरले माउण्टेन उडानको मिति तय गरेका छन् । शनिबार बुद्धले लकडाउनयता परीक्षणका रुपमा पहिलो उडान गरेको छ ।
अब हरेक शनिबार नियमित माउन्टेन फ्लाइट हुने कम्पनीले जनाएको छ । बुद्ध एयरका अनुसार २० मंसिरबाट शनिबार बुद्धको जहाज माउन्टेन फ्लाइटमा उड्नेछन् । काठमाडौं विमानस्थलबाट सगरमाथा, मकालु, नुप्त्से, गौरीशंकरसहित हिमश्रृङ्खलाको अवलोकन गर्न सकिने कम्पनीले जनाएको छ ।
उता, यती एयरले समेत अब २० मंसिरबाट हरेक शनिबार माउण्टेन फ्लाइट शुरु गरेको एउटा टिकट किन्दा अर्को सित्तैमा दिने गरी अफर ल्याएको छ । झ्यालको टिकट किन्दा अर्को सँगैको सिट सित्तैमा दिने घोषणा यतीले समेत गरेको छ । कम्पनीका अनुसार यो अफर नेपाली नागरिकका लागि मात्र उपलब्ध भएको हो ।


















