प्रधानमन्त्री ओली ताप्लेजुङको घुन्सामा
ताप्लेजुङ — प्रधानमन्त्री केपी शर्मा ओली ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ लेलेपको घुन्सा पुगेका छन् । पूर्वी क्षेत्रको भ्रमणमा निस्किएका ओली काठमाडौंबाट नेपाली सेनाको हेलिकप्टरबाट सिधै घुन्सा आइपुगेका हुन् ।

ओलीले घुन्सामा राडीपाखी र गलैंचा बुनाइको अवलोकन गर्नुका साथै घुन्सा फाउन्डेसनद्वारा स्थापित सामुदायिक स्वास्थ्य इकाईको उद्घाटन गर्ने कार्यक्रम छ ।घुन्सालाई नमुना गाउँ घोषणा गर्ने र स्थानीयलाई सम्बोधन गर्ने कार्यक्रम समेत रहेको घुन्सा फाउन्डेसनका अध्यक्ष याङजुम शेर्पाले जानकारी दिइन । ओलीसँगै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराई, संविधानसभा अध्यक्ष सुवास नेम्वाङ, १ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राई रहेका छन् ।
घुन्सामा जिल्ला सदरमुकाम फुङलिङबाट पूर्व सांसद, प्रदेश सांसद, गाउँपालिका तथा नगरपालिका प्रमुख, उप–प्रमुख, पार्टी कार्यकर्तालगायतको टोली पुगेको छ । प्रधानमन्त्रीसँगै गएकी पत्नी राधिका शाक्यले घुन्साका बासिन्दालाई न्यानो कपडा वितरण गर्ने कार्यक्रमसमेत रहेको जनाइएको छ ।
घुन्साको कार्यक्रमपछि पधानमन्त्री नेतृत्वको टोली ओलाङचुङगोला र इलामको जौवारी जाने कार्यक्रम छ । नेपाल–चीन सीमावर्ती क्षेत्र ओलाङचुङगोलामा प्रधानमन्त्रीले सीमावर्ती क्षेत्रको अवलोकन गर्ने जनाइएको छ । सशस्त्र प्रहरीको सीमा सुरक्षा पोस्ट अवलोकनपछि इलाम जाने कार्यक्रम रहेको फाउन्डेसनका अध्यक्ष शेर्पाले बताइन् ।



















